कांग्रेस संगठन निर्माणमा केन्द्रित हुन्छ-महामन्त्री शर्मा

शनिबार, १६ पुस २०७९
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्ठन निर्माणमा केन्द्रित हुने बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अब पाँच वर्षपछि सरकार बनाउने गरी सङ्गठन निर्माण र विस्तारमा लाग्ने बताए । उनले आलोचनाका बीचमा नेकपा माओवादी केन्द्र लगायतका दलसँग गठबन्धन गरिएको भए पनि अहिले जोगाउन नसकिएको बताए । झापा क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई आग्रह गरे । सत्ता समीकरणको फेरबदललाई अनपेक्षित घटनाको संज्ञा दिँदै उनले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई पनि अपदस्थ गरिएको इतिहास रहेको बताए । चुनावअघिको कांग्रेस नेतृत्वको समीकरण चुनावपछि भत्किएको विषयमा पार्टीभित्र निर्मम र गम्भीर समीक्षा हुने उनले कार्यकर्तालाई आश्वस्त पारे । बिपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै महामन्त्री शर्माले अबका दिनमा पार्टी एकजुट भइ अघि बढ्ने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार