झापा । झापामा आधुनिक थिएटरमा नाटक हेर्ने दर्शक बढ्दै गएका छन् । यो साता जिल्लाको दमक र काँकरभिट्टामा दुई अलग–अलग थिएटरमा मञ्चन भएका नाटकले वाहवाही पाएका छन् ।
परिवर्तन थिएटरले आदिवासी मेचे समुदायको कथावस्तुमा आधारित ‘म्लेच्छ’ नामक नाटक मञ्चन ग¥यो भने दमकको कदम थिएटरले प्रसिद्ध साहित्यकार इन्द्रबहादुर राईको ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नामक प्रस्तुत गरेको थियो । ‘म्लेच्छ’का लेखक पर्वत पोर्तेलले दर्शकबाट पाएको माया र प्रतिक्रियाबाट आफू उत्साहित बनेको बताए ।
अघोरी जङ्गल फाँडेर बसोबास गरेका आदिवासीहरू कसरी आफ्नो थातथलोबाट बेदखल भए र उनीहरू माथि राज्यले कसरी विभेद ग¥यो भन्ने इतिहासलाई नाटक मार्फत प्रस्तुत गरिएको उनले जानकारी दिए । जिल्लामा थिएटरमा नाटक हेर्ने संस्थागत चलन शुरु भएको एक दशकभन्दा धेरै भएको छैन । छोटो अवधि मै कलाकारको मेहनत र दर्शकको मायाले थिएटर संस्कृति मौलाएको छ ।
आजसम्म मञ्चन हुने नाटक ‘म्लेच्छ’ले एक सातामा पाँच हजार दर्शक बटुलेको बताइएको छ । कदम थिएटरमा प्रस्तुत ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ हेर्न दर्शकको घुइँचो लागेको थिएटरका महासचिव कमन देवानले बताए । उनका अनुसार यसअघिका नाटकमा पनि दर्शकको उपस्थिति धैरै रहने गरेको थियो ।
दोस्रो विश्वयुद्धमा बर्मा (हाल म्यान्मार)मा जापानी फौजले आक्रमण गरेपछि त्यहाँका नेपाली मूलका बासिन्दा ज्यान जोगाउन कयौं रात र दिन जङ्गलको बाटो हिँडेका थिए । त्यही क्रममा जयमाया कसरी लिखापानी भन्ने ठाउँमा एक्लै आइपुगिन् भन्ने कथा इन्द्रबहादुर राईले लेखेका थिए । नाटकमा त्यही कथा देखाइएको देवानले जानकारी दिए ।
झापाको बिर्तामोडमा क्षितिज नाट्य समूहले आधुनिक नाटकघर र संग्रहालय निर्माणका लागि अभियान सञ्चालन गरिरहेको छ । ‘यहाँ नाटक मन पराउने र माया गर्ने दर्शकको खाँचो छैन’– क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले भने । काँकरभिट्टामा सुविधासम्पन्न आधुनिक थिएटर बनाउन परिवर्तन थिएटरले पहल गरेको आधा दशक बिते पनि हालसम्म थिएटरले जग्गा र दाता नभेटेको थिएटरकी अध्यक्ष कविता नेपालले बताइन् । उनले नगरपालिकाले पनि सहयोग नगरेको बताइन् । उनले आफ्नै भवन बनाउन आर्थिक सहयोगको आह्वान गरे पनि सहयोग नपाउँदा भवन निर्माण ढिलाइ भइरहेको बताइन् ।
झापाका नाट्यकर्मीको सिर्जनात्मक क्षमता अन्तर्राष्ट्रियस्तरको भएको नाटक ‘म्लेच्छ’ हेर्नुभएको मेचीनगर–६ का शङ्कर भट्टराईले बताए । कला, साहित्य, पत्रकारिता, खेलकुद लगायत क्षेत्रमा राज्यले मुठ्ठी खोलेर सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया