काठमाडौं : नेपाली कथानक चलचित्र ‘बलिदान’ भोलि(फुलपाती) बाट प्रदर्शनमा आउँदैछ ।
निर्देशक सन्तोष सेनले आफ्नो चलचित्र बलिदानका बारेमा जानकारी दिन मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र बलिदान क्रान्तिका लागि लड्ने, आमाको लागि मातृभूमिको लागि लड्ने कथा भएको बताए ।
उनले भने, ‘जेनजी पुस्ताका भाइबहिनीहरुले जे सोचेर सडकमा उभिनुभयो । त्यसरी नै परिवर्तनको लागि आफ्नो ठाउँबाट परिवर्तनका लागि लड्नुपर्छ । त्यस्तै लडाई चलचित्र बलिदान हो । बलिदानमा क्रान्ति, आमा वा मातृभूमिका लागि लड्ने कथा भएको हुनाले हालैको घटना र यो सिनेमाको घटना पनि मिल्दोजुल्दो भयो ।’
उनले चलचित्र मार्फत दबिएर र खुम्चिएर बस्ने भन्दा त्यसका विरुद्धमा आवाज उठाउनु पर्ने सन्देश दिन खोजेको बताए ।
‘चलचित्रको माध्यमबाट दबिएर वा खुम्चिएर बस्ने नभइ आवाज उठाउनुपर्छ । कुठिन व्यवस्था विरुद्धमा आवाज उठाउनुपर्छ । गाउँ गाउँ, टोल, टोलमा युग पुरुषको जन्म हुनुपर्छ भन्ने सन्देश पनि हो,’ उनले भने ।
निर्देशक सेनले चलचित्र बलिदान आफ्नो सपना रहेको र त्यसलाई पूरा गर्न धेरै समय र उतारचढाव भोग्नुपरेको समेत बताए ।
कार्यक्रममा बोल्दै कलाकार समिर भट्टले बलिदान देश एवम माटोको र आमाछोराको कथा भएको भन्दै अग्रिम बुकिङलाई देखेर एकदमै खुसी लागेको बताए । ।
उनले बलिदानबाट आउने प्रतिक्रिया अनुसार अन्य सिनेमाको लागि अगाडि बढ्ने पनि बताए ।
‘आशुसेन फिल्म्स प्रालि’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
प्रतिक्रिया