इलाम, मंसिर : विद्यावारिधी अध्ययनका लागि इलामको माङसेबुङ गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्ने भएको छ । पालिकाबासी नागरिकलाई नेपालको कुनै विश्वविद्यालयमा विद्यावारिधी अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
गाउँपालिकाले छात्रवृत्तिका लागि आवेदन समेत माग गरेको छ । माङसेबुङ गाउँपालिकाको छात्रवृत्ति सम्बन्धी ऐन २०८० बमोजिम विद्यावारिधी अध्ययन छात्रवृत्तिका लागि निवेदन दिने सम्बन्धी सूचना प्रकाशन गरी आवेदन माग गरेको हो ।
सूचनामा माङसेबुङ गाउँपालिका क्षेत्रभित्रका सम्बन्धित सोधकर्ताहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन पेश गर्न आह्वान गरेको छ ।
निवेदनसाथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, एसईई र सो भन्दा माथिका शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपालको कुनैपनि विश्वविद्यालयमा सोधकार्य गरिरहेको प्रमाण खुल्ने कागजात र माङसेबुङ गाउँपालिकाको स्थायी बसोबासी भएको खुल्ने कागज संलग्न गर्न भनेको छ ।
ऐनको परिच्छेद ४ दफा ७ मा विद्यावारिधी अध्ययन छात्रवृत्ति सम्बन्धी व्यवस्थामा नेपालका कुनैपनि विश्वविद्यालयबाट विद्यावारिधी गरीरहेका सोधकर्ताहरुलाई विद्यावारिधी अध्ययन गर्न छात्रवृत्ति उपलब्ध गराईने व्यवस्था उल्लेख गरेको छ ।
प्रतिक्रिया