यात्रीले बन्दमुक्त सुरुङ्गाको प्रशंसा गर्दै यसको निरन्तरताको शुभकामना दिएका थिए । एक प्रसङ्गमा यात्रीले विज्ञान र अध्यात्मबीचमा तात्विक फरक नरहेको र सूचना, ज्ञान र प्रज्ञा जीवनदृष्टिका आधार भएको बताए ।
उनले सञ्चार क्षेत्रको भूमिकासम्बन्धमा प्रकाश पार्दै आवाजविहीनहरूको आवाज बन्नुपर्ने र पत्रकारले चर्चामा भएका कुराको मात्र चर्चा नगरेर चर्चामा नभएका विषयवस्तु पनि चर्चामा ल्याउनुपर्ने बताए । धर्मसम्बन्धमा संविधानमा उल्लेख नगर्न उनले सुझाएका थिए ।
धर्म र जीवन भनेको फूल र सुगन्ध जस्तै भएको उनको भनाइ थियो । वैदेशिक रोजगारमा युवा जानु भनेको प्रतिष्ठा र जीवनशैलीको विषय मात्र नभएर राष्ट्रिय लज्जाको विषय भएको उनको भनाइ थियो ।
भ्रष्टाचार विषयमा उनले भने– भ्रष्टाचारमुक्त संस्कृतिको शुरुवात हरेक व्यक्तिबाट हुन्छ । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफूहरू कनकाई नगरलाई उत्कृष्ट नगरको रूपमा विकास गर्न एकताबद्ध ढङ्गले लागी परेको बताए ।
बन्दमुक्त शान्ति क्षेत्रको रूपमा रहेको कनकाई नगरको गरिमालाई अक्षुण्ण राखिने मेयर पोखरेलको भनाइ थियो । कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का सहायक गभर्नर सन्दीप चापागाईंले समाज रूपान्तरणमा सबैलाई क्रियाशील हुन आग्रह गरेका थिए ।
सो अवसरमा टीकाप्रसाद कट्टेल, रामप्रसाद निरौला, लीलाराज झापाली, एकराज गिरी, रेजिना रोदन, संगीता उप्रेती, तीर्थराज खरेल, शम्भु पोखरेल, रोशनबाबु प्रसाईं, राजेन्द्र चौंलागाई लगायतले यात्रीलाई विभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ सुरुङ्गाका सचिव विनिता मैनालीले गरेकी थिइन् ।
प्रतिक्रिया