हर्कलाल मार्ग निर्माणमा ढिलासुस्ती : निर्माण कम्पनीले काम नगरेपछि सडक अबरुद्ध

विहीबार, २१ मंसिर २०८०
सुरेन्द्र भण्डारी झापा । दी कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको भौतिक पूर्वाधार कार्यालय चन्द्रगढी झापाले संरक्षण गर्दा हर्कलाल मार्ग ठेक्का लागेको लामो समय बितिसक्दा समेत निर्माण सम्पन्न हुन नसकेको भन्दै स्थानीयले सडक बन्द गरेर बिरोध जनाएका छन् । भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीका प्रमुख रमेश श्रेष्ठले ढिलासुस्ती गर्ने कम्पनीलाई कारवाहीको सट्टा संरक्षण गर्दा सडक निर्माण कार्यमा ढिलाइ भएको भन्दै स्थानीयले हर्कलाल मार्गको आवागमन ठप्प पारेका हुन् । बिहीवार बिहान त्यस क्षेत्रका स्थानीयले बिर्ताबजारबाट पूर्व हुँदै हर्कलाल मार्ग जोड्ने चौवाटो र भद्रपुर रोडको प्रकाश पेट्रोलपम्प नजिकै सडकको दुवैतर्फ बास तेस्र्याएर आवागमन ठप्प पारेका हुन् । सडक निर्माणको जिम्मा लिएको कम्पनीका सञ्चालकलाई कारवाही गर्नुको सट्टा पटक–पटक म्याद थप गरेर भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीका प्रमुख श्रेष्ठले सो निर्माण कम्पनीको पक्षपोषण गरेको भन्दै स्थानीयले श्रेष्ठलाई समेत कारवाहीको माग गरेका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा त्यस क्षेत्रका नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै पर्यावरणमाथि परेको प्रभावका विषयमा कार्यालय प्रमुखलाई अवगत गराउँदै ज्ञापन पत्र समेत बुझाएको हर्कलाल मार्ग पीडित नागरिकतर्फका धनश्याम नेपालले बताए । ज्ञापन पत्र बुझ्दै कार्यालय प्रमुख श्रेष्ठले मंसीर २० गतेसम्ममा हर्कलाल मार्गको सम्पूर्ण काम सक्न लगाउने आश्वासन दिए पनि २१ गतेसम्म सडकको काम शुरु नभएपछि सडक बन्द गरेर संघर्षमा उत्रनु परेको नेपालको भनाइ छ । समयमा सडक नबन्दा सो क्षेत्रमा धुलोले श्वासप्रश्वासका बिरामी देखिन थालेको उनको भनाइ छ । पूर्वाधार कार्यालयका प्रमुख श्रेष्ठले आफूले ठेकेदार कम्पनीको संरक्षण नगरेको दावी गरेपनि स्थानीयले भने उनकै संरक्षणका कारण निर्माण व्यवसायीले समयमा काम नगरेको आरोप लगाएका छन् । समयमा किन बनेन हर्कलाल मार्ग ? २०७३ सालमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय झापाले आठ करोड रुपैयाँको विस्तृत गुरु योजना (डीपीआर) तयार गर्दै बिर्तामोडस्थित हर्कलाल मार्गको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने तयारी गरेको थियो । ग्रामीण कृषि सडकको मापदण्डमा ‘¥याप थ्री’ अन्तर्गत सडकको स्तरोन्नतिसँगै कालोपत्रे गरिने भएपछि योजना समेत स्वीकृत भएको थियो । तर, मुलुक संघीय संरचनामा रुपान्तरण भएसँगै जिल्ला प्राविधिक कार्यालय पनि रुपान्तरण भएको र हर्कलाल मार्गको स्तरोन्नति अधुरै रहेको छ । स्थानीय तहको निर्वाचनपछि सो सडक २०७५ असारमा दी कञ्चनजंघा कन्ट्रक्सनले निर्माण गर्ने गरी ठेक्का लिएको थियो । ग्रामीण कृषि सडक ‘¥याप थ्री’ को मापदण्डमा ठेक्का लगाएपछि स्थानीयले सडक फराकिलो बनाउनुपर्ने माग राखेका थिए । भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीले सडक निर्माणको प्रक्रिया अघि बढाए पनि स्थानीयले सडक फराकिलो बनाउनु पर्ने माग राखेपछि सडक निर्माण कार्य रोकिएको थियो । तीव्र शहरीकरणका रुपमा विकास भइरहेको बिर्तामोडमा जनघनत्व दिन प्रतिदिन बढेसँगै मुख्य डाइर्भसनका रुपमा हेरिएको हर्कलाल मार्गलाई ‘¥याप थ्री’को मापदण्ड भन्दा बाहिर लगेर नाली वाहेक ४० फुट बनाउन गरिएको प्रस्तावसँगै स्थानीयको सहमतिमा सो सडक ४० फुट कायम भएपछि सडक निर्माण अलपत्र परेको हो । स्थानीयवासी, जनप्रतिनिधि, भौतिक पूर्वाधार कार्यालय चन्द्रगढी र बिर्तामोड नगरपालिकाको समेत सहमतिमा सो सडकलाई ४० फुट कायम गर्दै ३२ फुट कालोपत्रे गर्ने भनिए पनि निर्माण व्यवसायीले काम नगर्दा अहिलेसम्म हर्कलाल मार्गको अवस्था जस्ताको तस्तै छ । हर्कलाल मार्गलाई शहीद राम मार्ग नामकरण गर्दै फराकिलो र उच्चस्तरीय ग्राभेलसहितको कालोपत्रे गर्ने सहमतिसँगै ‘¥याप थ्री’को मापदण्डमा बन्ने लागत इस्टीमेटलाई परिर्वतन गर्दै लागत पुनरावलोकन प्रतिवेदन नै अर्को बनाइएको थियो । सोही प्रतिवेदनका आधारमा हर्कलाल मार्गलाई फराकिलो बनाउने कार्यमा भौतिक पूर्वाधार मन्त्रालयले अनुमति दिएपछि सडक कालोपत्रे गर्ने कार्यले तीव्रता पाउनुपर्ने हो । तर, निर्माण व्यवसायीको ढिलासुस्ती र नियमनकारी निकाय भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीले सडक निर्माणका विषयमा चासो नदेखाउँदा सो सडकको अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । यता स्थानीयले समयमा सडक निर्माण नगरिएको भन्दै आपत्ति जनाइरहेका छन् भने निर्माण व्यवसायी र नियमनकारी निकाय भने अहिलेसम्म बेखबर हुँदा स्थानीयले सास्ती खेपिरहेको नेपालको भनाइ छ । भ्याट बाहेक चार करोड २८ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्न लागिएको सो सडक २०७६ साल असारमा नै निर्माण सम्पन्न हुनुपर्ने हो । तर, हालसम्म सो सडकको न स्तरोन्नति गरियो न त कालोपत्रे नै । सडकको स्तरोन्नति गर्दै कालोपत्रे गर्न पहिलो वर्ष एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो, दोस्रो वर्ष एक करोड रुपैयाँ र तेस्रो वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन भए पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा सो रकम फ्रिज भएको थियो । निर्माण व्यवसायी र भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीकै लापरवाहीका कारण झण्डै साढे तीन किलोमिटर सडक कालोपत्रे गर्न प्राप्त भएको बजेट फ्रिज हुँदा त्यस क्षेत्रका बासिन्दा अहिले प्रत्यक्ष मारमा परेका छन् । सडक कालोपत्रेका लागि विस्तृत गुरुयोजना तयार गरेको पनि आठ वर्ष पूरा भएको छ । ‘¥याप थ्री’ को मापदण्डबाट लागत पुनरावलोकन गर्दै नयाँ प्रतिवेदनका आधारमा सडक कालोपत्रे गरिनुपर्ने भए पनि सडकको एक किलोमिटर क्षेत्रफलभित्र ड्रेन निर्माणको काम मात्रै भएको छ । त्यो पनि सबै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले समयमा काम नगर्दा बिर्तामोडको मुख्य डाइभर्सनका रुपमा हेरिएको सडक नै अलपत्र परेको छ । कालोसूचीमा परेको कम्पनीलाई सडक ठेक्का लगाइएका कारण पनि समयमा काम सम्पन्न हुन नसकेको बताइन्छ । यता भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीका प्रमुख श्रेष्ठले एक साता भित्रमा सो सडक निर्माण कार्यलाई अघि बढाइने र एक सातामा समेत निर्माण व्यवसायी काम नगरे कारवाही गर्ने बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार