जंगलमा खाने नहुँदा बस्तीमा छिरे हात्तीका बथान, ज्यान जोगाउनै मुस्किल

शनिबार, २३ मंसिर २०८०
बेलबारी (मोरङ) ‘राति सुत्न पाएका छैनौँ, हात्ती धपाउँदै रात बित्छ’ मोरङको बेलबारी १० का तेजबहादुर दाहाल हात्ती समस्याका कारण प्रताडीत हुनुपरेको दुःख सुनाउनुअघि नै भन्छन् । आफूहरू हात्ती समस्याका कारण रातभर सुत्न नपाएको, त्रासमा बस्नुपरेको र ज्यानै जोगाउन मुस्किल भइरहेको उनको भनाइ छ । ‘साँझमा खाना खाने समयमा आएका हात्तीले घर भत्काउन थाल्यो, हामीले भागेर ज्यान बचायौँ’। उनले भने ।
पछिल्लो केही सातायता सुनसरी, मोरङ र झापामा हात्तीका बथानले मानिसको ज्यानै लिन थालेपछि मानिसहरू चिन्तित बन्न थालेका छन् । पछिल्लो दिनमा मोरङको बेलबारीस्थित भाउन्नेका स्थानीयबासी हात्तीबाट पीडित बनेका छन् ।
साँझ पर्न नपाई बस्ती छिर्न थालेका जङ्गली हात्तीको बथान देखी भाउन्नेका स्थानीय आतङ्कित बन्नुपरेको स्थानीयबासीको भनाइ छ । दुई दर्जन बढीको संख्यामा आएका हात्तीको बथान मानव बस्तीमा पस्न थालेपछि त्रसित हुनुपरेको स्थानीयबासी बताउँछन् । स्थानीय रवीन निरौला र तीर्थबहादुर दाहालको घरमा बिहीबार राति हात्तीले क्षति पु¥याएको छ । बेलबारी वडा नम्बर ८ र १० मा मात्रै बीसौँ बिगाहा जमिनमा लगाइएको मकै र केरा खेतीमा हात्तीले क्षति पु¥याएको बेलबारी १० का वडाध्यक्ष गङ्गाबहादुर याखाले बताए । केही दिनदेखि दैनिक रूपमा राति हात्ती धपाउन सशस्त्र प्रहरी, जनपथ प्रहरी र नगर प्रहरी साथै स्थानीयले प्रयास गरिरहेको उनको भनाइ छ ।मोरङको भाउन्ने क्षेत्रमा मकै र केरा खेती राम्रो उत्पादन हुने गरेका कारण यहाँ हात्तीको बथान आउने उनले बताए । यहाँका स्थानीयले मकै र केरालाई नगदे बालीको रूपमा आफ्नो मुख्य आम्दानीको श्रोत मान्ने गरेको बेलबारी १० भाउन्नेका अशोक कुमार सुब्बा बताउँछन् ।
बेच्नलाई तयारी अवस्थामा रहेको एक कट्टा जमिनको मकै जङ्गली हात्तीले सखाप बनाएको सुब्बाको भनाइ छ । झापा, मोरङ र सुनसरीसहित विभिन्न स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।
गत मङ्सिर ५ गते हात्तीले आक्रमण गर्दा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भयो । शिविर बाहिरको हम्से दुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । यस्तै, मङ्सिर १३ गते राती सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट इटहरी २ का रवीन खड्काको मृत्यु भयो । चारकोसे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई हात्तीले कुल्चिएको थियो । मङ्सिर १५ गते झापाको हल्दिबारी ३ स्थित रण काली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणमा परी मृत्यु भयो । जङ्गलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो । मङ्सिर १८ बिहान मात्रै मोरङको बेलबारीमा एक जनालाई हात्तीले मारेको छ । लेटाङ ३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी १० भाउन्नेमा जङ्गली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । कोसी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जङ्गली हात्ती हुलका हुल पसिरहेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डीएसपी) रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूह २०–२१ वटाको छ । दुई साता अघिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन् । डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मङ्गलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालन छ । हात्तीले किन आक्रमण गर्छ?
राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीका प्रमुख वीरेन्द्र गौतमका अनुसार हात्ती ‘इगो’ लिने जनावरभित्र पर्छ । हात्तीलाई जिस्काउनु र ढुंगामुढा गर्नु हुँदैन । यसो ग¥यो भने आक्रमण गर्न सक्ने गौतम बताउँछन् । ‘समूहमा आएको हात्ती केही समय बस्छन् र केही समयभित्रै जताबाट आएको त्यतै जान्छन्,’ गौतमले भने, ‘जंगलमा खानेकुरा नभएकाले हात्ती गाउँ छिरेको हो ।’
उनका अनुसार हात्तीले खानेकुरा कहाँ छ भनेर गन्धले थाहा पाउँछ । त्यसैले पनि हात्ती बस्तीमा छिरेको हुनसक्ने उनको आकलन छ । ‘होहल्ला नभएको अवस्थामा हात्ती फर्किन्छ । तर खानेकुरा भेटेर यतै रमाउँदा समस्या पनि हुन सक्छ । हात्तीलाई जिस्काउने र ढुंगामुढा गर्ने गर्नु हुँदैन । उसलाई चोटपटक लाग्यो भने ज्यानै लिन पनि सक्छ ।’ उनले भने । हरेक वर्ष भारतबाट हात्तीको बथान नेपाल आउने गरेको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार