इटहरीका स्कुलमा ६ दिन : फलफूलदेखि मासुसम्म गरी छ थरीका खाजा 

आइतबार, २४ मंसिर २०८०
इटहरी : इटहरीका स्कुलमा ६ दिनमा छ खाजा कार्यक्रम ल्याएको छ । इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक गर्दै छ दिनमा छ खाजा कार्यक्रम सार्वजनिक गरेको हो । बाल कक्षादेखि ६ सम्मका छात्रछात्राहरूलाई दिवा खाजामा दिइने खाजाको सूची सार्वजनिक गर्दै इटहरीले विद्यालयमा जंकफुड निषेध गरेको जनाएको छ । इटहरीका मेयर हेकमर्ण पौडेलले विद्यालय खुल्ने ६ दिन फरक फरक खाजा खुवाउने र एक दिन मासु पनि समावेश गरेको बताए । आइतबार इटहरी वडा १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर नगरप्रमुख हेमकर्ण पौडेलले दिवा खाजाको सुरुवात गरे । सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई सङ्घीय सरकारले बाल कक्षदेखि पाँच कक्षासम्मका लागि प्रति विद्यार्थी दिवा खाजाको रकम १५ रुपैयाँको दरले दिँदै आएको थियो । इटहरी उपमहानगरले बाल कक्षादेखि ६ कक्षासम्मका लागि विद्यालयमै पोसिलो दिवा खाजा खुवाउने व्यवस्था मिलाएको छ । दिवा खाजा कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षका लागि इटहरी क्षेत्रभित्रका सामुदायिक विद्यालयका विद्यार्थीका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान दिएको छ । उपमहानगरपालिकाले तीन करोड ६६ लाख १६ हजार रुपैयाँ थप गरी ५ करोड ६२ लाख ८० हजार ४५४ मा एरिना टिफिनलाई दिवा खाजाको ठेक्का दिएको छ । दिवा खाजा कार्यक्रममा इटहरी उपमहानगरपालिकाका ८ हजार २८ विद्यार्थी सहभागी छन् । आइतबार : तीन किसिमका फलफूल, २१० ग्राम सोमबार : अण्डा र चिउरा मङ्गलवार : मिसाइएको गेडागुडीको तरकारी र चिउरा बुधवार :  चामलको खीर र तरकारी बिहीबार : दही, चिउरा र तरकारी शुक्रवार : खसी वा कुखुराको मासु र चिउरा, (शाकाहारीका लागि मटर पनिर)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार