ताप्लेजुङ / पछिल्लो समय ताप्लेजुङमा सम्बन्ध विच्छेदका मुद्दा बढ्न थालेको छ । पारिवारिक विग्रहको रूपमा लिइने सम्बन्ध विच्छेदका घटनाले ताप्लेजुङमा नयाँ रेकर्ड नै कायम गरेको छ ।
चालू आर्थिक वर्ष २०८०।८१ को पहिलो चौमासिक अवधि साउन–मङ्सिरमा अदालतमा दर्ता भएका मुद्दामध्ये ५४ प्रतिशत सम्बन्ध विच्छेदका रहेका छन् ।
ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार मनोज बरालका अनुसार चालू आवको पहिलो चौमासिक अवधिमा अदालतमा १ सय ३८ थान नयाँ मुद्दा दर्ता भएका छन् । तीमध्ये ७५ थान मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतले जनाएको छ ।
अघिल्लो आवबाट चालू आवमा जिम्मेवारी सरी आएका १ सय ४० थान मुद्दामध्ये ४१ थान सम्बन्ध विच्छेदका छन् ।
आव २०७९।८० को एकबर्षे अवधिमा अदालतमा दर्ता भएका मुद्दामध्ये ४४ प्रतिशत हाराहारी सम्बन्ध विच्छेदका थिए । चालू आवको मङ्सिर मसान्त सम्मको मुद्दाको अवस्था हेर्दा यहीँ प्रकृतिका मुद्दाले निरन्तरता पाए सम्बन्ध विच्छेदका मुद्दाले अघिल्लो आवको रेकर्ड ‘ब्रेक’ गर्ने देखिएको छ ।
सम्बन्ध विच्छेद श्रीमान्–श्रीमती बिचको वैवाहिक नाता सम्बन्धबाट दायित्व रहित तवरले अलग हुने कानुनी आधार हो । यसलाई प्राचीन समयमा पारपाचुके वा छोड पत्र भनिन्थ्यो । अहिले परिष्कृत रूपमा सम्बन्ध विच्छेद भन्ने गरिन्छ ।
अङ्ग्रेजीमा ‘डिभोर्स’ भनिने यी शब्द अहिले नेपालीमा पनि बढी प्रचलनमा रहेको पाइन्छ । मुलुकी देवानी संहिता २०७४ को दफा ९४ मा पतिले र दफा ९५ मा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी प्रावधान उल्लेख गरिएको छ ।
कानुन बमोजिम अंश लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समय देखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्ग–भङ्ग हुने वा अरू कुनै ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा र पत्नीले अन्य पुरुष सँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी प्रावधान रहेको छ ।
पहिलो चौमासिक अवधिमा ३५ प्रतिशत हाराहारी मुद्दाको फर्स्यौट गरेको जनाइएको छ । नयाँ लगत दर्ता भएका १ सय ३८ र जिम्मेवारी सरी आएका १ सय ४० गरी कूल २ सय ७८ थान मुद्दामध्ये यो अवधिमा ९६ जना मुद्दा फर्स्यौट भएको बताइएको छ ।
प्रतिक्रिया