निर्माण सामाग्रीको मूल्य घटे पनि घर बनाउने सङ्ख्या घटे,बैङ्कबाट ऋण लिन डराउँछन् सर्वसाधारण 

बुधबार, ११ पुस २०८०
नवीन दहाल इटहरी ।  इटहरीमा गत वर्षभन्दा यस वर्ष घर तथा संरचना निर्माण गर्नेको सङ्ख्या घटेको छ । इटहरी उपमहानगरपालिकाको घर नक्सा शाखाका अनुसार गत वर्षभन्दा यस वर्ष घर निर्माण गर्नेहरूको सङ्ख्या घटेको हो । आर्थिक वर्ष २०७९/८० को श्रावणदेखि मङ्सिरसम्म अनुमति लिनेको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा घटेको हो । इटहरी उपमहानगरको घर नक्सा शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० को मङ्सिरसम्म प्रथम चरणमा निर्माण गर्न इजाजत लिने दुई सय ३२ वटा, दोस्रो चरणमा निर्माण गर्न इजाजत लिने एक सय २२ र निर्माण सम्पन्न गर्ने तीन सय ३५ वटा रहेका थिए । तर, २०८०/८१ को मङ्सिरसम्म प्रथम चरण निर्माण गर्न इजाजत लिने एक सय १८ वटा, दोस्रो चरणमा निर्माण गर्न इजाजत लिने ८८ वटा र हालसम्म निर्माण सम्पन्न गर्ने दुई सय ८० वटा मात्र रहेका छन् । यसरी घर तथा भवन निर्माण गर्नेहरूको सङ्ख्या घट्नुमा आर्थिक मन्दी प्रमुख कारण रहेको इटहरी उपमहानगरपालिकाका इन्जिनियर कैलाश तिम्सिना बताउँछन् ।
‘घर तथा भवन निर्माण गर्नेहरूको सङ्ख्या घट्नुमा आर्थिक मन्दी नै प्रमुख कारण हो ।’ उनले प्रदेश खबरसँग भने, ‘आर्थिक मन्दी बढेपछि बैङ्क तथा सहकारी संस्थाहरूले पनि घर तथा संरचना निर्माणमा लगानी गर्न छाडेकाले निर्माण गर्नेको सङ्ख्या घटेको हो ।’ व्यवसायी भन्छन् – ‘कर्मचारी पाल्नै गाह्रो’
अहिले घर तथा संरचना निर्माणको सिजन भए पनि निर्माण सामग्रीको व्यापार ह्वात्तै घटेको छ । व्यवसायीहरूका अनुसार गत वर्षहरूको तुलनामा आधा व्यापार घटेको हो । केही वर्ष अघिसम्म मूल्य वृद्धिले चुलिएको  सिमेन्ट, रड, टायल मार्बल, जस्तापाता, इँटा , गिटी बालुवा लगायतका निर्माणजन्य सामग्रीहरूको मूल्य पछिल्लो समय घटेको छ । यसको मुख्य कारण पनि आर्थिक मन्दी नै रहेको व्यवसायीहरू बताउँछन् । आर्थिक मन्दी भएपछि घर तथा संरचना निर्माण कार्य कम भएसँगै माग घटेको र माग कम भएपछि मूल्य समेत घटेको व्यवसायीहरू बताउँछन् । गत वर्ष मात्र प्रतिकिलो १३१ रुपैयाँ सम्म पर्ने रड तथा फलामको मूल्य अहिले ९० देखि ९५ रुपैयाँमा झरेको छ । यसै गरी पिपिसी सिमेन्ट ७५० पचास रुपैयाँ, ओपिसी सिमेन्ट ८५० रुपैयाँ सम्म पुगेकोमा अहिले पिपिसी र ओपिसी क्रमशः छ सय र सात सय रुपैयाँमा घटेको छ । निर्माण सामाग्रीहरूको मूल्य एक वर्ष पहिलेको भन्दा ३० देखि ३५ प्रतिशतले घटेको भए पनि व्यवसायमा ५० देखि ६० प्रतिशत कमी भएको इटहरीको कृष्ण हार्डवेयरका सञ्चालक नरेन्द्र अग्रवाल बताउँछन् । ‘व्यापारमा कमी आएसँगै कर्मचारी पाल्न, घर भाडा तिर्न र बैङ्कको ब्याज तिर्न हामीलाई गाह्रो भइरहेको छ’ अग्रवाल थप्छन् ‘उद्योगहरूले कर्मचारी पाल्न, बिजुलीको बिल तिर्न, बैकको किस्ता तिर्न ३० देखि ३५ प्रतिशतसम्म घाटा खाएर सामाग्रीहरू बजारमा बेच्नुपर्ने बाध्यता छ ।’ इटहरी २० मा रहेको बस्नेत हार्डवेयरका सञ्चालक तीर्थ बस्नेतले पनि पछिल्लो केही समय यता निर्माण सामाग्रीहरूको मूल्यमा अत्यधिक गिरावट आएको बताए । रडको मूल्य २ वर्ष अघि सम्म १ सय ३७ सम्म पुगेको तर अहिले आएर प्रति केजी ९० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको बताए । उनले सिमेन्टमा चाहिँ मनपरी मूल्य भएको बताए । गत वर्ष ८ सय  सम्म ओपिसि र ७ सय समय सम्म पिपिसि बिक्री गर्ने गरेकोमा अहिले प्रतिबोरा १ सय मूल्य कम हुँदा पनि बिक्री नहुने गरेको बताउँछन् । उनले प्लम्बगिंका सामानका मूल्यमा समेत भारी गिरावट आएको उनले बताए । गतबर्षको तुलनामा यस वर्ष आधा पनि नभएको बताए । उनले पछिल्लो समय बैङ्कबाट  लिएर घर बनाउनेहरूको सङ्ख्या घटेको बताए ।
इटहरी २ मा घर बनाउँदै गरेका खड्ग राईले सुरुमा २ तल्लाको घर बनाउने इच्छा राखेर सोही अनुसारको नक्सा समेत बनाए तर पछिल्लो समय बैङ्कहरूले ऋण लिँदा ब्याज बढाएको देखेर तल्ला नथप्ने निर्णयमा पुगेको बताउँछन् ।   ‘अहिले  ऋण लिएर के गर्नु कुन बेला ब्याज बढाउने हो र तिर्न नसकेर लिलाम गर्ने अवस्था आउने हो ’ राई भन्छन् । 
यसका साथै निर्माण कार्यमा प्रयोग हुने गिटी बालुवाको मूल्य समेत घटेको भए पनि बिक्री हुन छाडेको कोसी क्रसर व्यवसायी सङ्घका अध्यक्ष, भीमबहादुर पौडेल बताउँछन् । उनी भन्छन् ‘गिटी, बालुवाको बिक्री दर ७५ प्रतिशत सम्म घटेको छ । पहिला गिटी र बालुवा प्रति टिपर सात हजार रुपैयाँमा बिक्री हुन्थ्यो अहिले पाँच हजार रुपैयाँमा समेत बिक्री हुन छोडेको छ ।’ यसै गरी जस्तापाता लगायतका निर्माण जन्य सामाग्रीहरूको मूल्य समेत घटेको व्यवसायीहरू बताउँछन् । यसरी निर्माणजन्य सामाग्रीहरूको मूल्य घटेको भए पनि कोभिड १९ का कारण सुरु भएको आर्थिक मन्दीले घर तथा संरचना निर्माण पनि घटेको बताइन्छ ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार