इलाम ललितकला उत्सव हुने

विहीबार, १२ पुस २०८०
इलाम  / नेपाल र भारतका कलाकार समेटिएको देही आर्टको नऔँ शृंखला इलाममा हुने भएको हो । इलामको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले नगरपालिका सहित छ वटा संस्थाको संयुक्त आयोजनामा नऔँ शृंखला इलाममा हुने भएको हो । यस अघि देही आर्टका विभिन्न शृंखला नेपाल र भारतका विभिन्न स्थानमा स१चालन भएका थिए । यसलाई इलाम ललितकला उत्सव नाम दिइएको छ । ललितकला उत्सव  यही पुस १४, १५ र १६ गते सञ्चालन गरिने छ । इलाम नगरपालिकाको हलमा पत्रकार सम्मेलन गर्दै आयोजनाबारे जानकारी गराइएको हो । इलामको कला संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटन पवद्र्धनका लागि ललितकला उत्सव हुने भएको इलाम नगरपालिकाकी उपमेयर विष्णुकुमारी दाहाल लिम्बुले जानकारी दिइन् । उनका अनुसार इलाम नगरपालिका सहित इलाम उद्योग वाणिज्य सङ्घ, नगर पर्यटन प्रवद्र्धन समिति, नगर कला साहित्य प्रतिष्ठान, प्याब्सन इलाम, देही आर्ट र होटल एसोसिएसन इलामको संयुक्त आयोजना रहेको छ । उत्सवमा इलाम नगरपालिकाका विभिन्न ठाउँहरूको चित्र पेन्ट्स मार्फत उतारिने छ । कतै चित्र हेरेर त कतै पर्यटकिय स्थल नियाल्दै प्रतक्ष रुपमा चित्र निर्माण गरिने बताइएको छ । हाल इलाम चोक बजार, माइस्थान मन्दिर, चिया बगान र अरनिको संङग्राहालय गरी चार स्थानमा प्रतक्ष रुपमा कलाकारहरूले चित्र बनाउने कार्यक्रम तय भएको नगर पर्यटन प्रवद्र्धन समिति इलामका सचिव अर्जुन पोख्रेलले जानकारी दिए । उनका अनुसार उत्सवमा नेपाल र भारतका गरी ३३ जना कलाकारहरूले सहभागिता जनाउने बताइएको छ । कलाकारहरूले निर्माण गरेका तस्बिरहरू विभिन्न ठाउँमा प्रदर्शन समेत गरिने जनाइएको छ । जसले चित्रमार्फत पनि इलामका विभिन्न स्थानहरूको प्रवर्द्धनमा सहयोग मिल्ने छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई समेत सहभागिता गराइने छ । कलाकारहरूसँग सिक्न चाहने विद्यार्थीहरूलाई निःशुल्क सीप समेत सिकाइने छ । दुई दिनसम्म सिकेका विद्यार्थीहरूबाट तेस्रो दिन प्रतियोगिता समेत राखिने छ । उत्कृष्ट कलालाई पुरस्कृत समेत गरिने जनाइएको छ । जसमा कक्षा पाँच देखी कक्षा १२ सम्मका विद्यार्थीलाई सहभागी गराइने छ । देही आर्ट झापाको एक संस्था हो । सो संस्थाले विभिन्न कलाकार समेटेर विभिन्न स्थानहरूको चित्र कोर्ने गरेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार