बैङ्कको ब्याजका कारण मारमा परेको र ग्राहक नै आउने क्रम घटेसँगै व्यवसायीसँग पलायनको विकल्प नरहेको श्रेष्ठ सुनाउँछन् । ‘अहिले नयाँ व्यवसाय दर्ता गर्नेहरू पनि न्यून मात्रामा रहेका छन् ।’ उनले भने ।यसरी, व्यवसायी पलायन हुने क्रम इटहरी, धरानसहित इनरुवामा पनि उत्तिकै रहेको जानकारहरू बताउँछन् । १५ देखि २० प्रतिशतको हाराहारीमा व्यवसायीहरू पलायन भएका उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्र साहले बताउँछन् । ‘आर्थिक मन्दी थियो थियो, सटर भाडा तिर्न र कर्मचारीलाई तलब दिनै गाह्रो हुन थालेपछि व्यवसायी पलायन हुन थालेका छन्’ उनले भने, ‘अहिले सम्म ३० प्रतिशत सटरहरू बन्द भएका छन् । यो निकै समस्याको विषय हो । अब माघ फागुनसम्म पनि यस्तै रह्यो भने इनरुवाका अधिकांश सटर खाली हुन्छन् ।’ इनरुवा नगरपालिकाका अधिकांश व्यापारी खेती किसानी कार्यसँग जोडिएकाले गर्दा व्यापारबाट पलायन भएकाहरू कृषि कार्यमा फर्किने उनको भनाइ छ । कर्जा लिने प्रक्रिया पूरा गर्नको लागि मात्रै फाट्टफुट्ट नयाँ व्यवसाय दर्ता हुँदै आएको अध्यक्ष साहले जानकारी दिए । व्यवसायी पलायनको समस्या इटहरी उपमहानगरपालिकामा पनि उस्तै रहेको छ । उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले पलायन हुने व्यवसायी २० प्रतिशत भन्दा बढी रहेको बताए । ‘२० प्रतिशत त व्यवसाय छोडेरै पलायन हुनु भएको छ, थप व्यवसायीहरू समेत पलायन हुने अवस्था छ ।’ उनले भने । बढ्दो आर्थिक मन्दी तथा विकास निमार्णका काम ठप्प हुँदा व्यापारीहरू पलायन भएको पराजुली बताउँछन् । उनले भने, ‘अहिले बैङ्कहरूले ब्याजको दर घटाएको भए पनि राज्यले व्यवसायीहरूको निम्ति नीति नल्याउँदा व्यापारिक प्रयोजनमा खुलेका सटरहरू बन्द हुने क्रम बढ्दो छ ।’ व्यवसायबाट पलायन भएकाहरू धेरैजसो बैङ्कको ऋण र ब्याज तिर्न विदेश पलायन हुनेको सङ्ख्यासमेत बढेको उनको भनाइ छ । सुनसरीको इटहरीका १० वर्ष देखि फेन्सि ब्यावसाय गर्दे आएका सन्तोष बस्नेतले बैङ्कको ब्याज तिर्न नसकेर आफ्नो पसल बेच्नु परेको तितो अनुभव सुनाए ।
‘ किस्ता हाल्नका लागि समेत व्यापार हुँदैन अनि पसल गरेर के गर्नु रु पसल बिक्री भयो अब विदेश जाने सोच गर्दैछु बस्नेतले’ भने । नयाँ व्यवसाय दर्ता हुने क्रम ७० देखि ७५ प्रतिशतसम्म कम भएको उवासंघको तथ्याङ्क छ ।पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीका कारण व्यवसायीहरू पलायन भइरहेको र अर्थतन्त्र सुधारोन्मुख नदेखिँदा थप समस्या चुलिँदै गएको जानकारहरू बताउँछन् ।
प्रतिक्रिया