इलाम / सूर्योदय नगरपालिकाले लम्पि स्किन महामारीबाट पशु चौपायामा क्षति भएका किसानलाई राहत रकम दिने भएको छ । आठौँ कार्यपालिका बैठकबाट राहत रकम वितरण गर्ने कार्यविधि पारित गरेको हो ।
माउ गाई मरेको किसानलाई २० हजार रुपैयाँ, कोरली गाई मरेका किसानलाई १० हजार र गोरु मरेको किसानलाई ५ हजार रुपैयाँ राहत रकम दिने निर्णय भएको सूर्योदय नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले लम्पि स्किन रोग नियन्त्रण गर्न खोप अभियानलाई सघन रूपमा सञ्चालन गर्ने भएको छ । त्यसका लागि नगरपालिका अन्तरगत र निजी पशु प्राविधिकको परिचालन गरिने छ ।
किसानलाई स्वास्थ्य रूपमा पशुपालनको तालिम समेत गराइने छ । लम्पि स्किन रोगबाट पशुधन क्षति भएका लाभग्राही सिफारिस गर्न आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।
समितिले लम्पि स्किन रोगबाट पशुधनमा क्षति भएका वास्तविक किसानको पहिचान गरेर राहतको लागि सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
नगरपालिकाले लम्पि स्किन रोगबाट भएको क्षतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न नगरपालिकाले एक करोड २५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।
नगरपालिकामा लम्पि स्किन रोगबाट सात सय ४४ गाईबस्तुको क्षति भएको छ । त्यस्तै नगरपालिकाले पशु र बाली बिमामा प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाले पशु र बाली बिमामा किसानले बेहोर्ने बिमा शुल्कको आधा रकम नगरपालिकाले बेहोर्ने भएको छ । बिमा प्रोत्साहनको लागि दश लाख रुपैयाँ विनियोजन भएको छ ।
पशु र बाली बिमामा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ । यो जिल्लाका अन्य पालिकाको तुलनामा प्रथम निर्णय हो । अन्य पालिकाले खोप अभियान सञ्चालन गरे पनि पशुमा क्षति भए राहत उपलब्ध गराउने निर्णय भने गरेका छैनन् ।
प्रतिक्रिया