इलाममा सुरु भयो तीन दिने ललितकला उत्सव

शनिबार, १४ पुस २०८०
इलाम पुस / इलाममा शनिवार देखी ललितकला उत्सव सुरु भएको छ ।  नेपाल र भारतका कलाकार समेटेर उत्सव सुरु गरिएको हो । यो देही आर्टको नऔँ शृङ्खला समेत हो । इलामको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिका सहित छ वटा संस्थाको संयुक्त आयोजनामा उत्सव सुरु भएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर एकका सङ्घीय सांसद महेश बस्नेत, इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दहाल लिम्बुले कार्यक्रमको संयुक्त उद्घाटन गरे । उत्सव १६ गतेसम्म सञ्चालन हुने छ । इलामको कला संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटन पवद्र्धनका लागि ललितकला उत्सव सञ्चालन गरिएको इलाम नगरपालिकाकी उपमेयर विष्णुकुमारी दाहाल लिम्बुले बताइन् । इलाम नगरपालिका सहित इलाम उद्योग वाणिज्य सङ्घ, नगर पर्यटन प्रवर्द्धन समिति, नगर कला साहित्य प्रतिष्ठान, प्याब्सन इलाम, देही आर्ट र होटल एसोसिएसन इलामको संयुक्त आयोजना रहेको छ । उत्सवमा इलाम नगरपालिकाका विभिन्न ठाउँहरूको चित्र पेन्ट्स मार्फत उतारिने छ । कतै चित्र हेरेर त कतै पर्यटकीय स्थल नियाल्दै प्रत्यक्ष रूपमा चित्र निर्माण गरिने बताइएको छ । उत्सव सुरु हुनु अघि इलाममा बिभिन्न जातिय झाँकी समेत पस्तुत गरिएको थियो ।   हाल इलाम चोक बजार, माई स्थान मन्दिर, चिया बगान र अरनिको संङग्राहालय गरी चार स्थानमा प्रत्यक्ष रूपमा कलाकारहरूले चित्र बनाउने कार्यक्रम तय भएको नगर पर्यटन प्रवर्द्धन समिति इलामका सचिव अर्जुन पोख्रेलले जानकारी दिए । उनका अनुसार उत्सवमा नेपाल र भारतका गरी ३३ जना कलाकारहरूले सहभागिता जनाएका छन् । कलाकारहरूले निर्माण गरेका तस्बिरहरू विभिन्न ठाउँमा प्रदर्शन समेत गरिने जनाइएको छ । जसले चित्रमार्फत पनि इलामका विभिन्न स्थानहरूको प्रवर्द्धनमा सहयोग मिल्ने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार