‘रङ्गेली’ का दुई पोस्टरमा दयाहाङ, अर्पण र मिरुना

शुक्रबार, २० पुस २०८०
काठमाडौँ  । अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई प्रस्तुत गर्दै नेपाली चलचित्र ‘रङ्गेली’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ। एक पोस्टरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई आमने सामने बनाइएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ। यसअघि प्रवीण खतिवडासहित राई, थापा र मगरका पात्र अनुसारका पोस्टर सार्वजनिक गरिसकिएको छ। आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने यस चलचित्रको यसै साता टिजर सार्वजनिक गर्ने तयारी रहेको निर्देशक अर्जुन सुवेदीले बताए। सुवेदीकै लेखन रहेको रङ्गेलीमा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ। यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ। चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्। निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह निर्माता हुन्। विवेक खड्का एशोसियट निर्माता हुन्। छायाकार सुशन प्रजापति हुन्। अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ। जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन्। ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार