पाटन विमानस्थल ः जहाज आउदैनन्, करोडौंका संरचना अलपत्र

आइतबार, २९ पुस २०८०
नरेश जोशी बैतडी । बैतडीको पाटन विमानस्थलमा जहाज आउन छाडेको दुई वर्ष भयो । विमानस्थल पूर्वाधार सम्पन्न नभएको होइन । यात्रु अभावका कारण वायुसेवा कम्पनीहरुले यहाँ उडान गर्न नमानेका हुन् । समिट एयरले प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको थियो । उक्त कम्पनीको जहाजले २०७८ चैत १० गते यहाँ अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै जहाज आएको छैन । यात्रु पर्याप्त नभएका कारण कम्पनीले यहाँको उडान गर्न छाडेको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए । ‘यात्रु अभावका कारण यहाँको हवाई सेवा बन्द भएको हो । भाडा महँगो छ, त्यसले यात्रु पाउन मुस्किल छ । भाडा नघट्दासम्म उडान हुने सम्भावना एकदमै न्यून छ,’ उनले भने । पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा प्रति यात्रु ३ हजार ७ सय रुपैयाँमा उडान हुने गरेको थियो । पछिल्लो समय भने भाडा बढेर ५ हजार पुगेको थियो । जहाज नआउँदा राज्यको लगानी खेर जानुका साथै त्यससँग जोडिएका पर्यटन र व्यापार–व्यवसायमा नकारात्मक असर परेको स्थानीयवासी दिनेश जोशी बताउँछन् । ‘हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई समस्यामा हुने गरेको छ,’ उनले भने, ‘नियमित उडानले आर्थिक विकासको अपेक्षा रहे पनि डेढ वर्षदेखि जहाज आएको छैन । नियमित हवाई सेवा सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’ पाटन विमानस्थलमा उडान नहुँदा झन्डै १६ करोडका संरचनाहरू प्रयोगविहीन छन् । तीन वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयबासी निराश छन् । तीन वर्षअघि ११ करोड रूपैयाँ खर्च गरेर २० मिटर चौडा र ५ सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र र करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माण गरिएको थियो । विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका बासिन्दाले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको पाटनका अर्का स्थानीय नरेन्द्र विष्टको भनाइ छ । नियमित उडान नहुने र भाडा पनि महँगो भएकाले यात्रुलाई समस्या त छँदै थियो, जहाज नै आउन बन्द हुनुले झन् मर्का परेको छ । भाडा समायोजन गरी नियमित उडान गर्नुपर्ने स्थानीय जयराज जोशीले बताउँछन् । उडान बन्द भएपछि अहिले धावनमार्गमा धावनमार्गमा घाँस उम्रन थालेको छ । विमानस्थलका घेरा पर्खाल भत्किनाका साथै तारजालीहरु पनि समेत चुँडिन थालेका छन् । द्वन्द्वका बेला संरचना आगजनी गरी ध्वस्त बनाइएपछि २०५२ सालयता पूर्ण रूपमा विमानस्थल बन्द थियो । २६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरी सोही महिनाको ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा नियमित रुपमा हवाई सेवा सुरु भएको थियो । विमानस्थल सञ्चालन नहुँदा राज्यको लगानी त खेर गएकै छ, अभर परेका बिरामीलाई जिल्ला बाहिरका अस्पताल पुग्न झन गाह्रो भएको छ । हवाई सेवा नियमित गराउन नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिएको पाटनका नगर प्रमुख गौरीसिंह रावलले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार