इलाम : इलाम नगरपालिका १२ लिङसुवामा रु ८८ लाख ३४ हजार तीन सय ३१ को लागतमा लिङसुवा राते खोला सिचाइ योजना सुरु भएको छ । इलाममा संचालित साना सिचाइ कार्यक्रम अन्तरगत लिङसुवा टोलमा सिचाइ योजना सुरु भएको हो ।
स्थानीय राते खोलाबाट पानी ल्याउने गरी सुरु भएको योजना अन्तरगत तीन हजार आठ सय ६१ मिटर लम्बाइको कुलो निर्माण हुनेछ । योजना अन्तरगत इन्टेक एक, पैदल पुल तीन, सुपर प्यासेज आठ, आउटलेट पाँच, पाइप कनेक्सन चेम्बर दुई र भिलेज रोड ब्रिज दुई वटा निर्माण हुने लिङसुवा राते सिचाइ जल उपभोक्ता संस्थाका सचिव रमेशकुमार लिङदमले जानकारी दिए ।
त्यस्तै, दुईतर्फी पक्की पुल एक हजार नौ सय ३० मिटर, कुलो ताछ्ने एक हजार सात सय ८४ मिटर, पाइप कुलो २५ मिटर निर्माण गर्नुपर्ने र गेबियन पर्खाल २६ बक्स लगाउनुपर्ने सम्झौता रहेको उनले बताए ।
योजना सम्पन्न भएपछि लिङसुवा र आसपासका ४७ घरधुरी किसानहरू प्रत्यक्ष लाभान्वित हुने छन् । त्यस्तै, त्यस क्षेत्रका तीन सय ४० रोपनी क्षेत्रफलमा सिचाइ सुविधा पुग्ने उपभोक्ता संस्थाका सचिव राम लिङदमले बताए ।
‘वर्षौँदेखि आकाशे पानी र परम्परागत कुलोबाट सिँचाइ गरिरहेका लिङसुवामा सिचाइ आयोजना सुरु भएपछि किसानहरू उत्साहित भएका छन् । योजना सम्पन्न भएपछि वर्षको एक पटक मात्र बालीनाली पाक्ने लिङसुवाका करिब साढे तीन सय रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्ने जनाइएको छ ।
प्रतिक्रिया