इटहरीका निवर्तमान मेयर द्धारिकलाल चौधरीलाई १० प्रश्न (अन्तर्वार्ता)

सोमबार, ०८ माघ २०८०
इटहरी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हुन्, द्धारिकलाल चौधरी । उनी आफ्नो कार्यकालमा विभिन्न कारणले चर्चामा आए । यसअघि तत्कालीन हाँसपोसा गाविसको दुई कार्यकाल अध्यक्ष भइसकेका चौधरीले नेकपा एमाले सुनसरीको अध्यक्ष भएर पार्टीमा पनि आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । पछिल्लो पटक गत स्थानीय निर्वाचनमा टिकट नपाएपछि पार्टी राजनीतिमै केन्द्रित रहेका उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनताका नेकपा एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरे । नेकपा माओवादीबाट प्रदेशसभाको टिकट ल्याएका उनी पराजित बने । सुनसरी क्षेत्र नं. २ (क) बाट गठबन्धनको साझा उम्मेदवार बने पनि उनको पक्षमा नतिजा आएन । त्यसपछि राजनीतिमा निष्क्रियजस्तै बनेका उनी पुनः एमालेमै फर्किएका छन् । यो बीचको राजनीतिक उतारचढावसहित देशमा भइरहेका समसामयिक विषय र स्थानीय तहबारेमा केन्द्रित रहेर प्रदेश खबरका लागि नवीन दाहालले गरेको कुराकानीको सम्पादित अंश :- अहिले के गर्दै हुनुहुन्छ ? मेरो व्यापार केही छैन । पार्टीको कार्यकारी जिम्मेवारीमा पनि छैन । म अहिले नेकपा एमालेको सङ्गठित सदस्य मात्रै छु । कुनै कमिटीमा छैन, त्यसकारण पुरातन कृषि, खेतीपाती पशुपालनमा अहिले घर परिवारलाई सघाउँछु ।  जनप्रतिनिधि हुँदा र बाहिर बस्दाको सामाजिक ‘स्ट्याटस’ मा के–कस्तो फरक हुँदो रहेछ ? यो मनोविज्ञानको कुरा पनि होला । म स्थानीय रैथाने भएको हुनाले नगरप्रमुख हुनुअघि इटहरी उपमहानगरपालिकामा गाभिएको साबिक हाँसपोसा गाविसको पनि दुई कार्यकाल अध्यक्ष रहेँ । पार्टीको जिल्लाको पदाधिकारी सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै प्रदेश सदस्यसम्म पनि जिम्मेवारी सम्हालेँ । त्यसले गर्दा सामाजिक मर्यादामा खासै फरक परेकोजस्तो आफूलाई लाग्दैन । औपचारिक रूपमा विभिन्न कार्यक्रममा हुने भूमिकामा फरक पर्दो हो । अन्यथा मलाई त्यस्तो केही महसुस भएको छैन । तपाईँको कार्यकालमा भएका ३ वटा गतिला काम के हुन् ? पहिलो त ग्रामीण क्षेत्रसँग सहरलाई जोड्ने सडक पूर्वाधारको काम कालोपत्रे झन्डै दुई सय किलोमिटर जति निर्माण भयो । अर्को स्वास्थ्य क्षेत्रमा इटहरीमा स्वास्थ्य केन्द्र थियो । त्यसलाई हामी इटहरी अस्पतालमा रूपान्तरण गर्यौँ । १५ शैयाको आकस्मिक सेवा पनि सुरु गर्यौ । अस्पताल भवन निर्माणको काम पनि सुरु भयो । त्यो अहिले निर्माणाधीन अवस्थामै छ । हामीले इटहरी अस्पतालको स्तरोन्नति गरेकै कारण अहिले यहाँका जनताले बृहत्तर रूपमा स्वास्थ्य सेवा पाइरहेका छन् । अर्को शिक्षाको तर्फमा चाहे निजी क्षेत्रका विद्यालय हुन्, चाहे सामुदायिक विद्यालय । यसको नियमन व्यवस्थापन गर्ने ऐनमा व्यवस्था भएअनुसार हामीले नगर शिक्षा ऐन जारी गरेर सामुदायिक र निजी विद्यालयहरूको शैक्षिक उन्नयनका लागि नियमित अनुगमन, नियमन गर्ने लगायतका काम गर्‍यौँ । हामीले प्राथमिक तहको परीक्षा व्यवस्थापन नगर शिक्षा शाखामार्फत पनि गरेका थियौ ।  तपाईँको कार्यकालमा भएका तर वर्तमान जनप्रतिनिधिले निरन्तरता नदिएका उल्लेख्य काम केही छन् ? छन् भने के ? यसमा चाहिँ अलि दूरगामी महत्वको अहिलेको होइन, अबको ५० वर्ष पछिको इटहरी कस्तो हुने रु प्रदेशकै एउटा सम्भावना बोकेको उदयमान सहर पनि हो, इटहरी । अहिले नै अस्तव्यस्त भइसक्यो सडकहरू, अहिले भएका बाटोले धान्दैन । त्यसकारण बाहिरी चक्रपथ निर्माणको लागि सङ्घीय सहरी विकास मन्त्रालयको सहयोगमा हामीले ४० किलोमिटर बाहिरी चक्रपथ अलाईमेन्टको काम हामीले सम्पन्न गरेका थियौँ । त्यसको लागि सम्भाव्यता अध्ययनको लागि प्रदेश सरकारले समेत नीति कार्यक्रम र बजेटमा समावेश गरेर यसको काम आरम्भ गरेको थियौँ । अहिले यो काम अघि बढिरहेको जस्तो लाग्दैन । अरू कतिपय इटहरीका गौरवका कामहरू छुटिरहेको जस्तो छ । कतिपय योजनाहरू ठेकेदारको ढिलासुस्ती त्यसमा के जटिलता छ, ती कामहरू स्थगित भएका छन् । जस्तै इटहरी वडा १५ को मोटररेबल ब्रिज लगभग ५ करोडको छ । त्यसको दुईतर्फ पाइलिङ्गको काम सम्पन्न भइसकेको छ । बाँकी काम रोकिइराखेको छ । त्यसैगरी जनता पार्कको काम अगाडि बढेको छैन । इटहरी ११ मा यो बहुजातीय संग्राहलयको काम पनि अगाडि बढ्न सकिरहेको छैन । यीसहित थुप्रै योजनाहरू अगाडि बढ्न सकेको छैन ।  तपाईँले सुरुआत गरेर, वर्तमान जनप्रतिनिधिले निरन्तरता दिएका उल्लेख्य काम केही छन् ? एक वर्षमा होइन, दुई वर्ष, तीन वर्षमा सम्पन्न हुने बहुबर्षीय योजना सुरु भएका थिए । ती कतिपय योजनाहरूले निरन्तरता पाइरहेका छन् । गति लिइरहेकै छ । खास गरी ग्रामीण क्षेत्रका कालोपत्रे बाटाहरू छन्, पुल कलबटहरू छन् । त्यसलाई निरन्तरता दिइरहेकै पाइरहेको छु । देशको राजनीति कता गइरहेको छ ? अहिले मूलतः सङ्घीय सरकार र प्रदेश सरकार गठबन्धनको छ । यी गठबन्धन दलहरूको लक्ष्य उद्देश्य आ–आफ्नै भए पनि सत्ता स्वार्थको लागि गठबन्धन भएको छ । अब ती गठबन्धनका सहयात्री दलहरूको हिजो चुनावमा जाँदा जुन प्रतिबद्धता पत्र जनतासमक्ष गरेका घोषणापत्र अनुरूप काम भएको छ जस्तो मलाई लाग्दैन । गठबन्धनले केन्द्र भागमा राखेको सुशासनलाई अब सबैले राष्ट्रिय एजेन्डा बनाएका थिए । तर, हामीले दिनदिनै अनेक बेतिथिहरू सुनिरहेका छौँ । गठबन्धन दलमै रहेका पूर्व प्रधानमन्त्रीदेखि लिएर उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेका व्यक्तिहरू विभिन्न खालका प्रकरणमा मुछिएका, थुनामा परेका, धरौटीमा छुटेका छन् । एकातर्फ सुशासन पनि कायम भएको देखिएन । पछिल्लो कालखण्डमा चरम आर्थिक सङ्कट देखिएको छ । बेरोजगारीका कारण दिनहुँ हजाराँै नेपाली युवायुवतीहरू बिदेसिनुपरेको छ । मुलुकमा कुनै अवसर छैन भनेर चरम निराशा छ । अहिलेका सरकार राजनीतिक दलहरूले सबै समस्याको समाधान निकाल्लान्, निकास देलान् भन्ने कुरामा जनतालाई आस छैन । त्यसकारण अँध्यारो सुरुङतर्फ जाँदै छौ कि, भन्ने खालको भयावह स्थिति हाम्रो अगाडि देखा पर्दैछ ।  देशभरका भ्रष्टाचार काण्डमा स्थानीय तह अगाडि आउँछन् । यसको कारण के हुन सक्छ ? हिजो स्थानीय निकाय भनिन्थ्यो । अहिले स्थानीय सरकार भनिन्छ । साधन स्रोतको हिसाबले पनि हिजोको तुलनामा बढी नै भएको र तद् अनुरूपको नियमन अनुगमन हुन नसक्दा स्थानीय तहमा अलि भ्रष्टाचार बढी भइरहेको छ कि ? प्रचार पनि बढी होला सङ्ख्या पनि धेरै हुने भयो । एक सङ्घीय सरकार, सात प्रदेश सरकार तर यहाँ त ७५३ स्थानीय सरकार छ । सङ्ख्या पनि थोरै भए त्यसले गर्दा स्थानीय तहमा कहीँ न कहीँ कमीकमजोरी र भ्रष्टाचार भएको छ जस्तो लाग्छ ।  सङ्घीयताबारे तपाईँको धारणा के छ र ? हिजो केन्द्रीकृत एकात्मक शासन व्यवस्था थियो । उक्त व्यवस्था अढाई सय वर्षदेखि थियो । त्यसले गर्दा पछाडि परेका समुदाय अल्पसङ्ख्यक आदिवासी जनजाति दलित महिला यिनीहरू राज्य सञ्चालनको मूलधारमा आउन सकेनन् । त्यसकारण उनीहरूको प्रतिनिधित्व हुन सकेन । उनीहरूको पहिचान र प्रतिनिधित्वका सुनिश्चितको लागि राज्यको पुनर्संरचना गरिएको हो । हामीले तीन तहको राज्यको पुनर्संरचना गयौ र सङ्घीय व्यवस्थामा गयौँ । तर, संविधानले परिकल्पना गरेअनुरूप प्रतिनिधित्वका व्यवस्था गर्नुपर्ने लैङ्गिक हिसाबमा महिलाहरूको प्रतिनिधित्व हुने भएपनि कुनै सम्पन्न नभई पछाडि परेका विपन्न, दलित अल्पसङ्ख्यक महिलाहरूको लागि व्यवस्था होला नि ? तर हामीले अहिले मुख्य दलहरूको विश्लेषण गर्ने हो भने मुख्य दलका नेता पत्नीहरू सांसद हुने, मन्त्री हुने, कतिपय दलमा परिवारको हाबी भइरहेको छ । त्यसले गर्दा सङ्घीयता र अहिलेको निर्वाचन प्रणालीप्रति असन्तुष्टि जागिरहेको छ । स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच अधिकारको बाँडफाँडमा प्रायः किचलो देखिन्छ । तपाईँको अनुभूति कस्तो छ ? स्थानीय तह सञ्चालन ऐनमा प्रस्ट व्यवस्था छ, प्रमुख र उपप्रमुखको अधिकार । त्यसो भएको हुँदा आ–आफ्नो अधिकार कर्तव्य र दायित्वलाई बुझेर अगाडि बढ्ने हो भने प्रमुख र उपप्रमुखबिचमा द्वन्द्व हुने कुनै कारण छैन । तर, त्यो नबुझ्दा एक अर्काको कार्यमा अधिकार क्षेत्रभित्र हस्तक्षेप हुँदा द्वन्द्व र टकराबको स्थिति बन्छ । देशको समृद्धिका लागि तपाईँका केही सुझाव ? देशको विकासको लागि एउटा खास समूहले योगदान गर्छ । श्रम गर्छ । त्यसमा बौद्धिक वर्गको महत्त्वपूर्ण भूमिका हुन्छ । अहिले अध्ययनका नाममा बौद्धिकहरू विदेश जाने, उतै बस्ने, अनेकै सुविधा प्राप्त गरेका घरका मान्छेहरू पनि अध्ययन गर्न बाहिरै जाने, उतै बस्ने त्यसकारण बौद्धिकहरू बाहिर बस्ने जो दक्ष जनशक्ति हो बाहिरै बस्ने, वैदेशिक रोजगारमा बाहिर जाँदा खेतबारी बाझै रहने, प्राकृतिक सम्पदाको सदुपयोग गर्न सकेका छैनौँ । अरू कुनै उद्योगधन्दा कल कारखाना उत्पादन नहुने रोजगारीको सिर्जना नहुँदा मुलुकको विकास हुन नसकेको हामीले देखिरहेका छौँ । हाम्रो भू–राजनीति छिमेकी देशहरूमा बनेका उत्पादन भएका सामान खपत गर्ने उपभोग गर्ने नेपाल एउटा बजारजस्तो भइरहेको छ । त्यसकारण जे जति हाम्रो आयस्रोत छ, ती अब चाहे वैदेशिक रेमिटेन्स होस्, मुलुक भित्रका आर्जन बाहिर गइरहेको छ । विदेशबाट आउनेले विदेशी माल बस्तु ल्याउने हो, पैसा विदेश नै जाने हो । यहाँ उपभोग हुने सामान विदेशबाटै आएका छन्, त्यसकारण हाम्रै देशमा, मूलतः कृषि हाम्रो प्राकृतिक सम्पदा, खेतीयोग्य जमिन छ । तर बाझै छ, जलस्रोतको धनी भनेपनी विद्युत् उत्पादन गरेर बेच्न सकेको अवस्था छैन । वन, जङ्गल छन्, काठ कुहिएर गइरहेका छन् । जडीबुटी छन्, त्यसको प्रशोधन निर्यात गर्न सकिरहेका छैनौँ । अग्ला हिमशिखर छन्, पर्यटकहरूलाई आकर्षित गर्न सक्ने धार्मिक ऐतिहासिक सम्पदाहरू छन् । तर, बाटोघाटो, पर्यटकलाई चाहिने सुविधाहरू, हामीले व्यवस्थापन गर्न सकेका छैनौ । खास गरी हामीले पर्यटक आकर्षित गर्न सकेका छौँ । यो सबै काम हामीले गर्न सक्यौँ भने मुलुक समृद्ध दिशामा अगाडि बढ्छ । अझै पनि यहाँ मेहनत गर्न सक्ने उमेर समूहका नेपालीहरू छन्, नेपालीहरू इमानदार नै छन् । नेपालीहरू मेहनती नै छन् । तर, अहिले कुनै पनि विकल्प नभएको कारणले देश छोड्न बाध्य छन् ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार