मनोज दाहाल,इटहरी - इटहरी उपमहानगरपालिकाका र इटहरीका कन्सल्टेन्सी व्यवसायीबिच छलफल भएको छ । कन्सल्टिङ्ग कार्यलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको इन्जिनियरिङ्ग कन्सलटेन्ट सोसाइटी इटहरीका सचिव इन्जिनियर प्रशान्त पोखरेलले जानकारी दिए । छलफलमा सोसाइटीका अध्यक्ष उमेश तुम्बाहाङले बिभिन्न मागहरु सहितको ज्ञापनपत्र नगर प्रमुख पौडललाइ बुझाएका थिए ।
छलफलका क्रममा कन्सल्टेन्सी व्यवसायीहरुले इटहरीमा रहेर घर नक्साका क्षेत्रमा काम गर्ने कन्सल्टेन्सीहरुले सोसाइटीमा अनिवार्य दर्ता गर्नुपर्ने उल्लेख गर्दै सोसाइटीको प्रमाणपत्र नभएका कन्सल्टेन्सीहरुलाई उपमहानगरपालिकामा नक्सा पेश गरेको समयमा चेकजाँच गरिदिन नगरप्रमुख पौडेललाई आग्रह गरेका छन् ।
एकपटक मात्र घर नक्सा संशोधन गर्ने भन्ने व्यवस्थाले घरधनिहरु मारमा परेको गुनासो आउने गरेको उल्लेख गर्दै उक्त व्यवस्थालाई परिमार्जन गरी धेरैमा ३ पटकसम्म संशोधन गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।
व्यवसायीहरुले विश्लेषण प्रतिवेदन योजना बनाएको हकमा स्नातक गरी कम्तिमा ५ वर्षसम्म सोही क्षेत्रमा काम गरेको अनुभवको आधारमा परामर्शदाताको प्राविधिक हुनुपर्ने व्यवस्था गर्न पनि नगरप्रमुख समक्ष माग गरेका छन् ।
नक्सा दर्ता गर्दा साइट प्लान सहित पेश गरी न्यूनतम दर्ता शुल्क लिएर सर्जमिन मुचुल्का सकिएपछि संरचना रेखाचित्र र विश्लेषण प्रतिवेदन पेश गर्न पाउने व्यवस्था गर्न पनि व्यवसायीहरुले नगरप्रमुखसँग माग गरेका छन् ।
इटहरीमा पछिल्लो समय वार्षिक २५ सय देखि ३५ सय सम्म घर निर्माण हुनेगरेको भन्दै बिभिन्न संरचनाहरुमा परिवर्तन आउदा पनि कार्यपालिकाबाट हुने सेवा प्रवाहमा सुधार नभएको सचिव पोखरेलले गुनासो गरेका थिए ।
छलफलमा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, उपप्रमुख संगीता चौधरी, इटहरी उपमहानगरपालिका घर नक्सा प्रमुख इन्जिनियर कैलाश तिमल्सीना लगायत बिभिन्न क्षेत्रमा आवद्ध इन्जिनियहरुको उपस्थिति रहेको थियो ।
कार्यपालिका र इन्जिनियरिङ्ग कन्सलटेन्ट सोसाइटीको सहकार्यमा गुणस्तरिय काम गर्न आवस्यक रहेको घर नक्सा प्रमुख इन्जिनियर कैलाश तिमल्सीनाको भनाई थियो । छलफलमा इन्जिनियर महेन्द्र खड्का र इन्जिनियर प्रमोद राइले परामर्श सेवामा हुनेगरेका विकृति तथा सेवा शुल्क लगायतका विषयमा नगरप्रमुख पौडेललाई जानकारी गराएका थिए ।
सोसाइटीले माग गरेका विषयहरुमा आफ्नो ध्यानाकर्षण भएका नगरप्रमुख पौडेलले बताए । नगरप्रमुख पौडेलले छलफलमा भएका विषयहरु कार्यन्वयनमा पहल गर्ने आश्वसन दिएका छन् ।
प्रतिक्रिया