कम्बोडियाको आगलागीमा ज्यान गुमाएका झापाका पाण्डेको शव भोलि नेपाल आइपुग्ने

विहीबार, ०५ माघ २०७९
कम्बोडियामा आगलागीमा परि ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार (भोलि) राति नेपाल आइपुग्ने भएको छ । कम्बोडियाको पोइपेट सहरमा स्थित  ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी झापा बिर्तामोडका निराकार पाण्डेको मृत्यु भएको थियो । क्यासिनोमा आगलागी हुँदा होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो । कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्याण्ड हुँदै नेपाल ल्याइने बताइएको छ । निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्याण्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदैछ । शव शुक्रबार राति १०ः३० बजे काठमाडौं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको नेकपा (एमाले)का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको छ । शव नेपाल ल्याउन लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णयसमेत भएको छ । सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो ।  शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्याण्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ । दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार