राष्ट्रियसभा निर्वाचनमा काँग्रेस–एमाले गठबन्धन, नेकपा अलग्गै मैदानमा

विहीबार, २४ पुस २०८२

काठमाडौँ : राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच औपचारिक तालमेल बनेको छ । सिट बाँडफाँटमा सहमति नजुटेपछि नेकपा (एकीकृत) गठबन्धनबाट बाहिरिएको हो । काँग्रेस–एमाले गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) पनि सहभागी भएको छ ।

तीन दलले भागबन्डाका आधारमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सहमतिअनुसार काँग्रेसले ९, एमालेले ८ र जसपासँग हालै पार्टी एकता गर्नुभएका महन्थ ठाकुर समूहले १ सिटमा उम्मेदवारी दिएका छन् ।

यसअघि काँग्रेस, एमाले र नेकपाबीच त्रिदलीय गठबन्धनको तयारी भए पनि नेकपाले आफ्नो मतभारअनुसार कम्तीमा ४ सिट माग गरेपछि सहमति जुट्न सकेन । काँग्रेस–एमालेले भने अधिकतम ३ सिटको प्रस्ताव गरेपछि नेकपा गठबन्धनबाट अलग भएको हो । काँग्रेस, एमाले र जसपा मिल्दा निर्वाचनमा रहेका १८ सिटमा जित सुनिश्चित हुने मतभार रहेको छ ।

माघ ११ मा मतदान

राष्ट्रियसभा निर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी, पुस २७ गते नाम फिर्ता तथा सोही दिन अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते निर्वाचन चिह्न प्रदान गरिनेछ भने माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुख मतदाता रहनेछन् ।

देशभर ५५० प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १ हजार ५०६ मतदाता रहेका छन् । रिक्त १९ सिटमध्ये मनोनीत सदस्य वामदेव गौतमको स्थान सरकारबाट सिफारिस हुने भएकाले बाँकी १८ सिटका लागि निर्वाचन हुन लागेको हो ।

नेकपाको सातै प्रदेशमा एकल उम्मेदवारी

काँग्रेस–एमालेसँग सहमति नभएपछि नेकपाले सातै प्रदेशमा एकल उम्मेदवारी दिएको छ । कोसीमा खेमराज सुन्दास (दलित), नमिता न्यौपाने (महिला) र दामोदर घिमिरे (अन्य) उम्मेदवार छन् ।

मधेसमा शम्भु पासवान (दलित), रामनन्दन प्रसाद (अल्पसङ्ख्यक), लक्ष्मण पौडेल (अन्य) र समी कुमारी अग्रवाल (मधेसी) उम्मेदवार बनेका छन् । बागमतीमा प्रेम सापकोटा र सरोज कुमारी झा उम्मेदवार छन् ।

लुम्बिनीमा बृहस्पति अधिकारी, सर्जन विक र दुर्गा भण्डारी उम्मेदवार बनेका छन् । कर्णालीमा बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिममा टीकाराम जैसी र रोजी बस्नेत सुनार उम्मेदवार रहेका छन् ।

एमालेका आठ उम्मेदवार

एमालेले गठबन्धनअनुसार आठ सिटमा उम्मेदवारी दिएको छ । कोसीमा रोशनी मेचे र सोम पोर्तेल, मधेसमा रेखा झा, बागमतीमा प्रेमप्रसाद दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारी उम्मेदवार छन् ।

काँग्रेसका नौ उम्मेदवार

काँग्रेसले विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरूलाई उम्मेदवार बनाएको छ । गण्डकीबाट प्राध्यापक जगत तिम्सिना, सुदूरपश्चिमबाट वरिष्ठ अधिवक्ता खम्बबहादुर खाती, मधेसबाट रञ्जित कर्ण, कोसीबाट सुनीलबहादुर थापा उम्मेदवार छन् । थापा अन्य प्रतिस्पर्धी नहुँदा निर्विरोध निर्वाचित भइसकेका छन् ।

लुम्बिनीबाट चन्द्र केसी र वासुदेव जङ्गली, कर्णालीबाट ललितजंग शाही, बागमतीबाट गीता देवकोटा र मधेसबाट धनेन्द्र पासवान उम्मेदवार रहेका छन् ।

काङ्ग्रेसभित्र असन्तुष्टि

उम्मेदवार छनोट प्रक्रियामा काङ्ग्रेसभित्र असन्तुष्टि देखिएको छ । महामन्त्री गगन थापाले प्रक्रिया मिचिएको भन्दै लिखित फरक मत राखेका छन् । नेता अर्जुननरसिंह केसीले समेत पर्याप्त छलफल नगरी उम्मेदवार टुङ्ग्याइएको भन्दै आपत्ति जनाएका छन् ।

मतदाता र मतभार

राष्ट्रियसभा निर्वाचनमा कुल १ हजार ५०६ मतदाता छन् । प्रदेशसभा सदस्यको प्रतिमतदाता मतभार ५३ र स्थानीय तह प्रमुख–उपप्रमुखको प्रतिमतदाता मतभार १९ तोकिएको छ । कुल मतभार ५७ हजार ५५९ रहेको छ ।

काँग्रेस–एमाले गठबन्धनमा अन्तर्घात नभए सबै प्रदेशमा जित सुनिश्चित हुने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार