उनका अनुसार सोही क्रममा २०४३ कात्तिक २७ गते कम्पनी दर्ता भएको र २०४४ भदौ ५ गते बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको छ रोपनी जग्गा दुई लाख ५० हजार रुपियाँप्रति रोपनीका दरले १५ लाख रुपियाँ बराबर कायम गरेर च्याम्पियन फुटवेयरको नाममा नामसारी गरिएको देखिएको छ ।उनले कम्पनी प्रवर्धनका लागि थप एक लाख रुपियाँ खर्च गरेको र थप चार रोपनी जग्गा पनि च्याम्पियनकै प्रयोजनमा ल्याइएको देखिएको बताए । उनका अनुसार उक्त निर्णय २०४४ मङ्सिर १८ गते भएको हो । उनले भने, “बाँसबारी छाला जुत्ता कारखानाको २६ लाख रुपियाँ लगानी भएको देखिन्छ । सुरुमा कम्पनी स्थापना गर्दाको पुँजी ५० लाख रुपियाँ थियो । पछि एक करोड रुपियाँ पुँजी बनाएको देखिन्छ । लगानीको हिसाबले हेर्दा नागरिकले पाउने सेयर कतैबाट पनि जारी भएको देखिँदैन ।
एसएसपी आचार्यका अनुसार अन्य लगानीकर्ताबाट ७४ लाख रुपियाँ लगानी गर्नुपर्ने भए पनि त्यसमा आठ लाख रुपियाँ मात्रै लगानी भएको देखिन्छ । उनले भने, “पहिले १० रोपनी लिएको र बाँकी आठ रोपनी पनि लिने उद्देश्य राखेको देखिन्छ । २०४९ असार २३ गते निजीकरण गर्ने सन्दर्भमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयरबारे निर्णय भएर गयो ।२०५२ साउन ११ मा अरुण चौधरीले खरिद गरेको देखिन्छ । २०५४ साउन १२ मा पब्लिक लिमिटेड कम्पनीबाट प्राइभेट कम्पनीमा रूपान्तरण गरिएको देखिएको छ ।” उनले तत्कालीन सरकारको कित्ता नम्बर ५० को १८ रोपनी तीन आना दुई पैसा जग्गा तत्कालीन श्री ५ को सरकारको निर्णयबिना जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको सञ्चालक समितिले हिनामिना गरेको बताए । उनले किर्ते कागज र ठगी शीर्षकमा अनुसन्धान भइरहेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।
प्रतिक्रिया