काठमाडौं । मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो ।
अपरेसनमा सहभागी सेलान्गोर इमिग्रेसनका निर्देशक खैरुल अमिनस कमरुद्दीनले शनिबार बिहानै अपरेसनका क्रममा २६ जना महिलासहित ५ सय ३० विदेशीलाई नियन्त्रणमा लिइएको बताए ।
१५ नेपालीसहित ५ सय विदेशी पक्राउ
उनीहरूमा म्यानमारका २ सय ७७, बंगलादेशका ९४, भारतका ७२, इन्डोनेसियाका ३९, नेपालका १५, श्रीलंकाका ९, पाकिस्तानका ६ र भियतनामका एक जना रहेको बर्नामाले रिपोर्टले जनाएको छ । खैरुल अमिनसका अनुसार विदेशी नागरिकसँग स्वदेशमा रहेका वैध कागजात छन् कि छैनन् भनी जाँच गरिनेछ ।
सो अपरेसनमा जनरल अपरेसन फोर्स, प्रहरी, सिभिल डिफेन्स फोर्स, सेलान्गोर राष्ट्रिय दर्ता विभाग र सुबाङ नगरपरिषद्को पनि सहभागिता रहेको थियो । सुबाङ जया नगरपरिषद् (एमबीएसजे) कर्पोरेट तथा रणनीतिक व्यवस्थापन विभागले भन्यो, ‘लाइसेन्सका सर्तहरू उल्लंघन गर्ने इजाजतपत्र प्राप्त परिसरहरू जाँच गर्न छापा मारिएको थियो, जस्तै कि अनुमतिबिना काम गर्ने विदेशीहरूलाई काममा राख्ने ।’
काउन्सिलले बजारको नियमित अनुगमन र कार्यान्वयन कार्य सञ्चालन गर्ने गरेको उनले बताए । ‘सन् २०१९ यता ११ अपरेसनहरू सञ्चालन भइसकेका छन् र स्थानीय निकायको मातहतका विषयमा विभिन्न कसुरमा जम्मा १ सय ६१ वटा कम्पाउन्ड जारी गरिएको छ,’ काउन्सिलले भनेको छ, ‘हिरासतमा रहेका आप्रवासीहरूलाई सेलान्गोर अध्यागमन विभागको प्रवर्तन शाखा कार्यालयमा ल्याइयो ।’
सबै थुनुवालाई अध्यागमन ऐन, १९५९–६३ को दफा ६९१०(ग) अन्तर्गत कुनै वैध कागजात नभएको र अध्यागमन ऐन, १९५९–६३ को दफा १५९१०(ग) अन्तर्गत अपराध गरेकामा अनुसन्धान गरिने जनाएको छ । मलेसियाले आगामी १ मार्चदेखि माइग्रेसन स्वदेश फिर्ता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
जसमा अवैध रूपमा बसेका नेपालीसहित अन्य मुलुकका आप्रवासीले स्वदेश फिर्ता कार्यक्रममा सहभागी भई वैध पासहरूबिना मलेसिया प्रवेश गरेकामा ५ सय रिंगेट जरिमाना तिरेर फर्किन पाउनेछन् भने तिनीहरूको पासका सर्तहरू उल्लंघन गर्नेले ३ सय रिंगेट जरिमाना तिरेर आ–आफ्नो मुलुक फर्कन पाउनेछन् ।
पछिल्लो समय मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड अभियान तीव्र पारेसँगै सयौं नेपाली पक्राउ परेका छन् । मलेसियामा विभिन्न पेसामा गरी ५ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेका पाइन्छ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया