अशोककी जेठी छोरी ७ कक्षा र माइली छोरी २ कक्षा पढ्ने भइसके । तीन वर्षकी कान्छी छोरीलाई भने स्कुल पठाइसकेका छैनन् । दाउरा बेचेको पैसाले नुन–तेल चले पनि छोरीहरूलाई स्कुलको पोसाक, कापीकलम र झोला किन्न सधैं अरूको भर पर्नुपर्छ । ‘कमाउने घरमूलीकै हात गुमेपछि आर्थिक संकट पर्न थाल्यो,’ अशोककी पत्नी मुनियाले भनिन्, ‘मागेर खाउँ भने मनले मान्दैन, हात नभए पनि श्रीमान्को हिम्मत र आँट देखेर म आफैं दंग पर्छु ।’पडोरिया गाउँको चारैतिर ठूला घर छन् । बस्तीको छेउकुनामा ६ धुरमा बनेको फुसको घर नै अशोकको हो । यही ६ धुर पनि उनले पराल काट्ने मेसिन चलाउने बेला कमाएको ३ लाखमा थप सात लाख रुपैयाँ कर्जा खोजेपछि १० लाख रुपैयाँमा किनेका थिए । त्यो कर्जा गाउँकै महाजन बेलबाला पण्डितसँग लिएको उनले बताए । जमिन अहिले बेलबाला साहुकै नाममा बन्धकी छ । कर्जा तिर्न नसकेकाले आफ्नो नाममा गर्न नसकिएको चिन्ताले अशोकलाई अहिले पनि हरदिन पोलिरहन्छ । अशोकले चलाउने थोत्रो साइकल पनि तीन वर्षअघि वडा नम्बर १० का तत्कालीन वडाध्यक्ष जयराम चौधरीले उनलाई जीविका चलाउन भन्दै दिएका थिए । अहिले दुवै चक्काका टायर खिइसके पनि पैसा नभएकाले अशोकले फेर्न सकेका छैनन् । ‘नयाँ साइकल किन्ने पैसा छैन, कसैले सहयोग गरिदिए धन्य हुने थिएँ,’ उनले सुनाए, ‘नगरपालिकासँग कैयौं पटक भनें तर सुनुवाइ भएन ।’ चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने बताए । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया