विभागका अनुसार चालु आवको सात महिनामध्ये कात्तिकबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५० हजारभन्दा माथि छ । कात्तिकमा नेपालीहरूको ठुला चाडपर्व दसैँतिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या कम भएको हो । माघ महिनामा ६२ हजार १४७ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् ।विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको सुरुदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो । गत दुई वर्ष मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य रहेकोमा यो वर्षको सुरुदेखि नै युएई पहिलो गन्तव्य देश बन्न सफल भएको उहाँको भनाइ छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको छ महिना (पुस मसान्त) सम्म सात खर्ब ३३ अर्ब २२ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । यो तथ्याङ्क हेर्दा मासिक औसत एक खर्ब २२ अर्ब रुपियाँ भित्रिएको देखिन्छ । यो चालु आवको यस अवधिसम्म आएको विप्रेषण गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै रहेको राष्ट्र बैङ्कले जनाएको छ गत आवमा सात लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । अघिल्लो आव २०७८-७९ मा छ लाख ३० हजार ९० ले श्रम स्वीकृति लिएर बिदेसिएका थिए । विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या हो । यो सङ्ख्या अघिल्लो आव २०७९-८० को तुलनामा कम भए पनि यस वर्ष सुरुवाती महिनाको तुलनामा भने मङ्सिर र पुसमा उच्च दरले बढ्न थालेको देखिएको छ । गत आवको पहिलो सात महिनामा चार लाख ८८ हजार ८३० जना बिदेसिएका थिए । आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया