नयाँ भवनमा पत्रकारिता विभाग

शुक्रबार, ०४ फागुन २०८०
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नो भवनमा सरेको छ। यसअघि प्रदर्शनीमार्गमा रहेको रत्नराज्य क्याम्पसको भवनमा सञ्चालित विभागले बुधबार बल्खुको नयाँ भवनमा अध्यापन सुरु गरेको छ। बुधबार त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले नयाँ भवन उद्घाटन गरे। उनले लामो समयको सङ्घर्षपछि विभागले आफ्नै भवन प्राप्त गरेको उल्लेख गर्दै आधुनिक भवनसँगै शैक्षिक अनुसन्धान भित्र्याउने काम विभागको जिम्मामा आइपुगेको बताए। विभागका उपप्राध्यापक एवं भवन निर्माण समितिका संयोजक डा. देवराज अर्यालले उक्त भवन निर्माणमा २१ करोड ५५ लाख ५१ हजार रुपियाँ खर्च भएको जानकारी दिए। इन्जिनियरिङ क्याम्पस पुल्चोकका कन्सल्टेन्सी प्रमुख नारायणप्रसाद गौतमले विभिन्न सेवा सुविधासहितको अत्याधुनिक भवन निर्माण गरिएको बताए। क्यामेरा डिजाइनमा बनाइएको भवनमा सबै सुविधा प्रदान गरिएको छ। भवनमा पुस्तकालय, विद्युतीय पुस्तकालयका साथै मल्टिमिडिया, बैठक, फोटोग्राफी, टेलिभिजन स्टुडियोसमेत रहेको छ। टेलिभिजन पनि प्रसारण गर्न मिल्ने गरी संरचना तयार गरिएको छ। भवनको छतबाट काठमाडौँ सहर देखिने र त्यहाँबाट फिल्म छायाङ्कन गर्न सकिने उनले बताए। पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले पत्रकारिता शिक्षाको गुणस्तरीयतामा खरो उत्रिनुपर्ने बेला आएको बताउँदै नयाँ भौतिक संरचना खोज तथा अनुसन्धान कार्यका लागि पनि सहयोगी हुने बताए। २०३३ सालबाट रत्नराज्य क्याम्पसमा पत्रकारिता विषयमा पठनपाठन सुरु भएको थियो। त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि र २०७४ देखि दर्शनाचार्य तहको अध्यापन प्रारम्भ गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार