छुर्पी उत्पादनमा प्रतिकेजी ५० रुपैयाँ अनुदान

सोमबार, ०७ फागुन २०८०
पाँचथर / पाँचथरको कुम्मायक गाउँपालिकाले छुर्पी उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले किसानलाई प्रतिकिलो ५० रुपैयाँ अनुदान दिने भएको हो । गाउँपालिकाभित्र पशु पालन गर्दै आएका किसानलाई छुर्पी प्रवर्द्धन कार्यक्रम अन्तर्गत प्रोत्साहन रकम वितरण गरिने भएको हो । दूध डेरीहरूको मापदण्ड पुरा गर्ने तरिका र सोका लागि आवश्यक सहयोग समेत गरिने गाउँपालिकाको पशुपन्छी सेवा शाखाका पशु चिकित्सक डा. नागेन्द्रबहादुर दाहालले बताए । कार्यक्रम सञ्चालनका लागि कार्यविधि निर्माण भइरहेको जनाइएको छ । दूध डेरीले दूध सङ्कलन गरेर प्रशोधन गर्दै आएका छन् । अधिकांश डेरी उद्योगहरूले दूधबाट घ्यू र छुर्पी निर्माण गर्दै आएका छन् । निर्माण भएको घ्यू र छुर्पी लामो समयसम्म पनि नबिग्रिने भएकाले पनि धेरै सोही सामग्री निर्माण गरिने गरिएको हो । सो गाउँपालिकामा अधिकांशले पशुपालन गर्दै आएका छन् । मुख्य पेसा नै कृषि र पशुपालन भएकाले पनि दूधजन्य सामग्री उत्पादन हुने गरेको छ । करिब दुई सय बढिले व्यावसायिक पशु पालन गर्दै आएका छन् । गाउँपालिकाले दैनिक १ देखि ३ केजी छुपी उत्पादन गर्नेलाई प्रतिकेजी ५० रुपैयाँ, ३ देखि ५ केजी उत्पादन गर्नेलाई प्रतिकेजी ४० रुपैयाँ र ५ केजीभन्दा माथि उत्पादन गर्नेलाई प्रतिकेजी ३० रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गर्ने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार