न्यूपी थर्पा छोलिङ गुम्बा सहयोगार्थ नेपथ्य ब्यान्ड इलाम आउने 

मंगलबार, ०८ फागुन २०८०
टीका खतिवडा
इलाम फागुन / न्यूपी थर्पा छोलिङ गुम्बा निर्माण सहयोगार्थ नेपथ्य ब्यान्ड इलाम आउने भएको छ । इलाम गुरुङ समाज इलामको आयोजनामा साङ्गीतिक प्रस्तुतिका लागि नेपथ्य इलाम आउने भएको हो ।
कार्यक्रम चैत्र ३ गते हुने आयोजक संस्था गुरुङ समाज इलाम हरि गुरुङले जानकारी दिए ।
सूर्योदय नगरपालिका १२ मा रहेको करफोक माविको खेल मैदानमा कार्यक्रम तय भएको हो ।
यस अघि इलाम सदरमुकाममा सो कार्यक्रम गर्ने भनिए पनि प्राविधिक समस्याका कारण कार्यक्रम सदरमुकामभन्दा बाहिर गरिएको जनाइएको छ ।
 मित्र राष्ट्र भारतसँग नजिक भएका कारण पनि यहाँ बाहिरबाट साङ्गीतिक कार्यक्रम हेर्नका लागि पर्यटक आउने आयोजकले अपेक्षा लिएको छ ।
झापा र भारतसँग नजिक भएका कारण करफोकमा दर्शकको सङ्ख्या उच्च हुने अनुमान आयोजकको छ ।
कार्यक्रममा नेपथ्य ब्यान्डले तीन दर्जन बढी साङ्गीतिक कोसेली पस्कने जनाइएको छ । जसका लागि सहयोग जुटाउन सुरु गरिएको आयोजक संस्थाका हरि गुरुङले जानकारी दिए ।
कहाँ निर्माण हुँदै छ गुम्बा ?
इलाम नगरपालिका–६ पानी ट्याङ्कीमा गुम्बा निर्माण हुँदै छ । धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पु¥याउने उद्देश्यले गुम्बा निर्माण गरिँदै  छ  ।
एक रोपनी क्षेत्रफलमा रु डेढ करोड लागतमा गुम्बा निर्माण हुने निर्माण समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए । उनका अनुसार गुम्बासहित आवाससमेत निर्माण गरिनेछ ।
भवन र अन्य वस्तु खरिद गरेर जम्मा दुई करोड माथि खर्च हुने बताइएको छ । गुम्बामा धार्मिक पाठशालासमेत रहनेछ ।
साथै यस गुम्बाले धार्मिक पर्यटक भित्र्याउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।
गुम्बा निर्माणका लागि सन्दकपुर गाउँपालिका–२ का धनबहादुर गुरुङले एक रोपनी जमिन निःशुल्क उपलब्ध गराएका छन् । साथै उनले नगद रु तीन लाख रकम निर्माण कार्यका लागि सहयोग गर्नुभएको समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।
न्युपिङ थार्पाछ्योलिङ गुम्बा निर्माणका लागि हाल धमाधम काम भइरहेको छ ।
यसका लागि स्थानीयहरु श्रमदानमा समेत जुटेको बताइएको छ । गुम्बाको भवन निर्माणकै लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत २५ लाख रकम प्राप्त भएको जनाइएको छ ।
साथै विभिन्न व्यक्तिहरूबाट समेत २० लाख माथि रकम सङ्कलन भइसकेको छ ।
तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको यस गुम्बा निर्माणले चियाबारी घुम्न आएका पर्यटकहरूलाई नयाँ आकर्षण थप्ने विश्वास लिइएको छ ।
गुम्बासँगै भगवान् बुद्धको प्रतिमा समेत स्थापना गरिनेछ ।
चियाबारी नजिकै भ्यु टावर छेउमा निर्माण भइरहेको गुम्बामा सहयोगीहरू थपिने क्रम जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार