इलाम / इलामको रोङ गाउँपालिका बेसार प्रवर्द्धनमा जुटेको छ । गुन्द्रुक र सिस्नोको बजारीकरणमा सफल मानिएको रोङ गाउँपालिका पछिल्लो समय बेसार प्रवर्द्धनमा लागेको हो ।
बेसार बाँदर लगायत अन्य जङ्गली जनावरले समेत खाँदैन । जङ्गली जनावरबाट अन्नबाली जोगाउन पनि सहज हुने भएपछि बेसारको खेती गर्न सुरु गरिएको बताइएको छ ।
पहिलो चरणमा गाउँपालिकाले बेसारको बिउ वितरण गरेको छ ।
स्थानीय एक सहकारी मार्फत बेसारको बिउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास) ले बताए ।
स्थानीय इको चिया उत्पादक सहकारी मार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको छ ।
उत्पादन भएको बेसार सहकारीले नै खरिद गर्ने बताइएको छ । प्रतिकिलोग्राम ४० रुपैयाँका दरले किसानबाट काँचो बेसार खरिद गर्ने बताइएको छ ।
सुरुमा ४५ जना किसानलाई दिइएको बिउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइने छ । र पर्याप्त उत्पादन पछि बाहिर निकास गर्न थालिने बताइएको छ ।
सो गाउँपालिकामा बेसारको राम्रो उत्पादन हुँदै आएको छ । बेसार १० गुणा बढी फल्ने गरेको किसानहरू बताउँछन् । एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने गरेको किसानको भनाई छ ।
गाउँपालिकाकै किसान शान्त कुमारी लाप्चाले एक किलोग्राम बेसारको बिउँबाट १६ किलोग्राम बेसार उत्पादन गरेको उनीलाई उद्धृत गर्दै अध्यक्ष स्याङ्बोले बताए ।
किसान लाप्चाले यस अघि पनि बेसार रोपेको र राम्रो उत्पादन लिएको बताइएको छ ।
गाउँपालिकाले सबै ६ वटै वडामा बेसार खेती विस्तार गर्ने लक्ष लिएको छ ।
गाउँपालिका र जिल्ला बाहिर समेत बेसार निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिकता तर्फ उन्मुख गराउन यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष स्याङ्बोको भनाई छ ।
बेसार पनि विभिन्न जातमा हुन्छन् ।
गाउँपालिकाले भने कपुरबोट एक जातको बेसार किसानलाई वितरण गरेको जनाइएको छ ।
गाउँपालिकाले यस अघि ‘रोङ मह’ सहित गुन्द्रुक ब्रान्डिङ गरिसकेको छ ।
सिस्नो समेत बजारसम्म पुर्याउन काम थालिएको बताइएको छ । उत्पादन सुरु भएपछि ‘रोङ बेसार’ समेत ब्राण्डिङ गरिने बताइएको छ ।
बेसारको प्रयोग र फाइदा
बेसार खास गरी तरकारीमा प्रयोग गरिन्छ । अत्यन्तै थोरै मात्रामा प्रयोग गरिने बेसार किचनमा समेत फारु मानिन्छ । तरकारीको रङ बसाउन पनि यसको प्रयोग गरिन्छ । तर बेसारलाई औषधीय गुणका रूपमा समेत लिने गरिन्छ । नियमित बेसारको प्रयोगले चिसोबाट बच्न सकिने बताइएको छ ।
शरीरका हरेक अङ्गलाई फाइदा पु¥याउने स्वास्थ्यवद्र्धक मानिएको जडीबुटीमा समेत बेसारलाई लिइन्छ । तरकारीमा मसलाको रूपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्ने गरेको बताइन्छ ।
यान्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गर्ने गरिएको चिकित्सकहरूको भनाई छ ।
नेपालमा यसको सजिलो खेती हुने र सस्तोमा पाइएकाले पनि यसको महत्त्व मा हुने गरेको बताइएको छ ।
वनस्पति वैज्ञानिकहरूका अनुसार बेसारले मानव शरीरका सम्पूर्ण अङ्गमा औषधीय काम गर्ने गरेको छ ।
बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट समेत बचाउने गरेको छ ।
प्रतिक्रिया