माङसेवुङमा एकै पटक चार वटा सिँचाइ आयोजना निर्माण सुरु

विहीबार, १० फागुन २०८०
इलाम / माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चार वटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चार वटै योजनाको संयुक्त रूपमा शिलान्यास गरे । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोला गाउँ टोलमा एक सिँचाइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए । चौरानब्बे घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुने गरी स्थानीय लम्फेवा खोलाबाट दुई वटा, फुङ खोलाबाट एक र फेवा खोलाबाट एक सिँचाइ कुलो निर्माण सुरु भएको हो । तोभाङमा रु ९३ लाखको लागतमा लम्फेवा खोलाबाट निवाघारी र रु ५५ लाख ६८ हजारको लागतमा सोही खोलाबाट लाम्पाते कुलो निर्माण सुरु भएको छ । यसै गरी, नाङरुङमा रु ३९ लाख २१ हजारको लागतमा फुङ खोलाबाट घुमाउरो पाक्रुम्बा कुलो र खोला गाउँमा रु ४५ लाख ७८ हजारको लागतमा फेवा खोलाबाट बाह्रमुरे कुलो निर्माण सुरु भएको वडाध्यक्ष योङहाङले बताए । “वर्षौँदेखि आकाशे पानी र परम्परागत कुलोबाट सिँचाइ गरिरहेका वडाका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, समयमै आयोजना सम्पन्न गर्न तीव्रता दिइनेछ”, वडाध्यक्ष योङाहाङले भने । “आयोजना पूरा भएपछि यहाँका ९४ किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् ।” सिँचाइ योजनाका लागि स्विस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी रहेको छ । योजना आगामी असार २० गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको छ । गत वर्ष सोही वडामा रु दुई करोड १४ लाखको लागतमा चार वटा सिँचाइ कुलो निर्माण सम्पन्न भएका छन् । पाटी गाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा निर्मित सिँचाइ कुलोबाट एक सय ३७ किसान लाभान्वित भएका छन् । सिँचाइ सुविधा पुगेपछि धान उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कअनुसार यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा धान खेती गरिएको थियो । इलाममा रञ्जित, राधा चार, चुल्ठे र अन्य स्थानीय जातका धान खेती गरिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार