चीन चिया निर्यात गर्दा तीन गुणा बढी फाइदा हुन्छ : पूर्व प्रम खनाल

विहीबार, १० फागुन २०८०
इलाम /  पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारत केन्द्रित चियाको बजारीकरण तोड्नु पर्ने बताएका छन् । विभिन्न समयमा अनेकौँ बहाना बनाएर भारतीय पक्षले नेपाली चिया निर्यातमा समस्या थपेको भन्दै उनले अन्य मुलुक चिया निर्यात गर्नु पर्नेमा जोड दिए । इलाम नगरपालिका एक नम्बर वडा कार्यालयको आयोजनामा भएको एक कार्यक्रममा उनले चिया चिन निर्यात गर्न सके पनि तीन गुणा बढी फाइदा मिल्ने बताए । चिनमा तीन गुणा बढी मूल्यमा चिया बिक्री भइरहेकाले सो देशमा समेत चिया निर्यात गर्नु पर्नेमा उनको जोड छ । हाल वार्षिक चार अरबको चिया विदेश निर्यात भइरहेको भन्दै उनले चिन तर्फ निर्यात गर्दा १२ अरब भित्रिने बताए । इलाम नगरपालिका एक नम्बर वडा भित्र बढी चिया उत्पादन हुने भएकाले सो वडाले पर्व प्रधानमन्त्री खनाल समक्ष चियाको समस्या किसान मार्फत राख्ने कार्यक्रम तय भएको थियो । किसान र उद्योगी समस्यामा परेको भन्दै तत्काल तीनै तहका सरकारले समाधानको बाटो खोज्नु पर्ने स्थानीय मोतीराम दाहालले बताए । उनले किसान तथा चिया उद्योगी एवम् व्यवसायी पलायन हुने परिस्थिति आएको भन्दै समाधानमा सरकार लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा वडाको तर्फबाट चिया र विभिन्न समस्या समाधान साथै विकास निर्माणका कार्यलाई समेटेर छ बुँदे ज्ञापन पत्र बुझाइएको थियो । वडा अध्यक्ष गायत्री राम बस्नेतले खनाललाई ज्ञापन पत्र बुझाउँदै समस्या समाधानमा पहल गरिदिन आग्रह गरे । त्यस्तै वडावासीले छुट्टै चियाको समस्या समाधान गर्नु पर्ने माग सहित ज्ञापन पत्र बुझाइएको थियो । स्थानीय दिनेश रसाइलीले चियाका समस्या समाधानमा पूर्व प्रधानमन्त्री समक्ष बुँदागत रूपमा समस्या प्रस्तुत गरेका थिए । वडा कार्यालय अन्तर्गतको ज्येष्ठ नागरिक समन्वय समितिको तर्फबाट खनाललाई सम्मान समेत गरिएको थियो ।   उनलाई सम्मान पत्र सहित ढाका टोपी ओढाएर र खादा लगाएर सम्मान गरिएको थियो । ७५ वर्ष माथिका बृद्धबृद्धालाई सम्मान गर्ने कार्यक्रम भएकाले खनाल ७६ वर्ष पुगेकाले उनलाई समेत सम्मान गरिएको बताइएको छ । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार