सरुवाबारे निर्णय नगर्दा २७ जना सहसचिव महिनादेखि बरन्डामा

शुक्रबार, ११ फागुन २०८०
काठमाडौँ - प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै सरुवाबारे निर्णय नगर्दा बढुवा भएका २७ सहसचिव एक महिनादेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर गरेर दिन बिताइरहेका छन् । प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालय र अर्थ मन्त्रालयबीच सहमति नभएका कारण कामै नगरी तलब बुझ्न बाध्य छन् । सहसचिवको पोस्टिङ र सरुवाको सूची महिनौंसम्म मुख्यसचिवको घर्रामा थन्क्याउने परम्परा नै बसालिएको छ । कुनै पनि मन्त्रालयमा जान चाहने, लैजाने र हटाउन चाहनेबीचको स्वार्थमा फरक–फरक व्यक्ति छनोट हुन थालेपछि सहसचिवको पोस्टिङ र सरुवामा जहिल्यै शक्तिकेन्द्रबीच टकराव पर्ने गरेको छ । गत माघको पहिलो साता दुई पटक गरेर ३० सहसचिव बढुवा भएकामा यसबीचमा तीन जना पोस्टिङ नै नभई अवकाश भइसकेका छन् । बढुवा भएका मध्ये १५ राजस्व समूहका छन् । बढुवा भएका सबै सहसचिवलाई प्रशासनिक प्रतिष्ठानले एक साता तालिमसमेत दिइसकेको छ । तर उनीहरू एक महिनादेखि हातमा सहसचिवको नियुक्ति बोकेर सिंहदरबारको कम्पाउन्डमा दिन बिताइरहेका छन् । संघीय मन्त्रालय प्रशासन महाशाखा प्रमुख रामकुमार महतोले सहसचिवको पोस्टिङ प्रस्ताव गरेको पत्र प्रधानमन्त्री कार्यालय पठाएको तीन साता हुन लागेको जानकारी दिए । ‘हामीले पठाएका छौं, उताबाट निर्णय भएर आएको छैन,’ उनले भने । सहसचिवको सरुवा र पोस्टिङमा प्रधानमन्त्री कार्यालय अनिर्णयको बन्दी भएको यो पहिलो पटक भने होइन । शक्ति केन्द्रबीचको टकरावकै कारण गत मंसिरमा ७१ जना सहसचिवको सरुवाको सूची एक महिनासम्म प्रधानमन्त्री कार्यालयमा रोकिएको थियो । माघको पहिलो साता २९ जना सहसचिवको सरुवा पनि एक महिनाभन्दा बढी समयको रस्साकसीपछि फाइनल भएको थियो । एक पटक फाइनल गरेर संघीय मन्त्रालय पठाएको सूची मुख्यसचिव बैकुण्ठ अर्यालले आफूले हस्ताक्षर गरेको एक घण्टापछि रद्द गरेका थिए । उक्त सूचीमा एउटै सहसचिवलाई तीन महिनामा तीन पटकसम्म सरुवा गरिएको थियो । कुनै सहसचिवलाई भने आर्थिक चलखेल हुने प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा पालैपालो सरुवा गरिएको थियो । अहिले पनि शक्ति केन्द्रबीचको टकरावले बढुवा भएको लामो समयसम्म पनि सहसचिवहरू हाजिर गरेर घर फर्किन बाध्य छन् । नयाँरपुराना कुनै पनि सहसचिव सरुवा हुन अनिच्छा देखाएपछि एयरपोर्ट भन्सार अब निमित्तको भरमा सञ्चालन हुन थालेको छ । कुनै बेला शक्तिकेन्द्र धाएर भन्सार प्रमुख बन्ने परिस्थिति बदलिएर अहिले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय जाने कर्मचारी नै नपाउने भएको छ । विश्वको आँखा पर्ने अन्तर्राष्ट्रिय भन्सार नाकामा सरकारले दरबन्दीअनुसारको कर्मचारी पठाउन नसक्ने भएको छ । एयरपोर्ट भन्सार प्रमुख टोकराज पाण्डे सरुवा भएको तीन साता बित्दा पनि प्रमुख बनाउने सहसचिव फेला नपरेपछि आइतबारदेखि हाल त्यहीँ कार्यरत उपसचिव गगन विश्वकर्मालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । भन्सार विभागका उपमहानिर्देशक सेवन्त पोखरेललाई एयरपोर्ट सरुवा गरेकामा उनी बिदामा बसेका छन् । स्रोतका अनुसार उनी नजाने मनस्थितिमा छन् । निजामती किताबखानाबाट गएका पाण्डेलाई पाँच महिनामै अर्थ मन्त्रालय सरुवा गरिएको हो । भन्सार विभाग स्रोतका अनुसार पछिल्ला वर्षहरूमा एयरपोर्ट भन्सार जाने सहसचिव पाउनै कठिन हुन थालेको छ । सुनलगायतका वस्तुको तस्करीको घटनाका कारण कारबाहीको डरले भन्सार जाने कर्मचारी पाउनै कठिन भएको हो । सामान्य प्रशासन मन्त्रालयमा हाजिर गरेर बसेका नयाँ सहसचिवहरूले पनि जाने इच्छा नदेखाएपछि कसलाई पठाउने अर्थ मन्त्रालय नै एयरपोर्ट भन्सार प्रमुखको खोजीमा रहेको छ । प्रशासन सेवाका सहसचिव अरुण पोखरेल गत असोजमा वीरगन्ज भन्सारबाट एयरपोर्ट सरुवा भएका थिए । उनी एकवर्षे कार्यकाल पनि पूरै बसेनन् । उनी पछिल्लो तीन महिना बिदामा बसेर गत भदौमा अर्थ मन्त्रालय सरुवा भएका थिए । उनी बिदामा बसेका बेला भेपमा लुकाएर ल्याएको सुन बरामद भएको थियो । उक्त घटना एयरपोर्ट भन्सारमा सहसचिवलाई प्रमुख प्रशासकको दरबन्दी कायम गरेर प्रमुख बनाउने गरिएको छ । भन्सारमा ७ जना उपसचिवको दरबन्दी रहेकामा अहिले तीन जना मात्र कार्यरत छन् । एयरपोर्ट भन्सारमा कर्मचारीको दरबन्दी १४६ जना रहेकामा कार्यरत १३६ जना छन् । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार