सिरहा : हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि आवागमनमा समस्या भएको छ । आज बिहान आएको बाढीले पुल बगाएको हो ।
बाँसबाट बनाइएको यही काठेपुलबाट दैनिक सयौँ मोटरसाइकल तथा स्थानीयवासी ओहोरदोहोर गर्ने गरेका थिए । करिब १३ वर्षदेखि यहाँ निर्माणाधीन पक्की पुल अझै अधुरो छ । यहाँ छ महिनाअघि सिरहा नगरपालिकाले करिब दुई लाख खर्चेर अस्थायी काठेपुल निर्माण गरेको थियो ।
नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले बाढीले पुल बगाएपछि आवागमनमा समस्या भएकोे बताएका हुन् । “बाढीले काठको पुल बगाएपछि यहाँ आवागमन नै बन्द हुन पुगेको छ । पैदलयात्रीहरू भने पुल छेउमा रहेको भ¥याङबाट जोखिम मोल्दै आवतजावत गरिरहेका छन्”, वडाध्यक्ष यादवले भने ।
यहाँ विसं २०६८ जेठ ३१ बाट तीन वर्षमा सक्ने गरी चार सय ६९ दशमलव दुई मिटर लामो पुलको निर्माण सुरु भएको थियो । पटक–पटक म्याद थप गरेर १० वर्षमा निर्माणको अन्तिम काम भइरहेका बेला विसं २०७८ असारमा आएको सामान्य बाढीले पुल भासिन पुग्यो ।
आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी फेरि अन्तिम पटक म्याद थप गरिए पनि निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ ले बीचमै काम छोडेको छ ।
प्रतिक्रिया