ब्रेन डेथका अंगबाट जीवनदान

शनिबार, १२ फागुन २०८०
२०७९ असार २३ मा गम्भीर दुर्घटनामा परेर ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग दान दिन परिवार सहमत भएपछि सुश्रितासँगै मोरङका ५० वर्षीय देवेन्द्रप्रसाद बास्तोलाले नयाँ जीवन पाएका हुन् । काठमाडौँ — दुवै मिर्गौलामा खराबी देखिएपछि चार वर्षदेखि डायलासिस गराउँदै आएकी तार्केश्वर नगरपालिका–७ मनमैंजुकी २६ वर्षीया सुश्रिता थापामगरले यतिबेला नयाँ जीवन पाएकी छन् । मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको मिर्गौला पाएपछि उनलाई ठूलो राहत मिलेको हो । रोगले च्याप्दा उनका बुवा श्रीकृष्ण बितिसकेका थिए । रक्त समूह नमिलेपछि परिवारभित्रका आमा र बहिनीको मिर्गौला प्रत्यारोपण सम्भव नहुने भएपछि सुश्रिताले मन मारिसकेकी थिइन् । ‘नयाँ जीवन पाउँछु भनेर त सोचेकै थिइनँ,’ उनले गहभरि आँसु पारेर भनिन्, ‘कसैको परिवारमा दुःखद घटना घटेको भए पनि मैले भने नयाँ जीवन पाएँ । अंगदाता र उनको परिवारकाको सात जुनीसम्म स्वर्गमा बास होस् ।’ २०७९ असार २३ मा गम्भीर दुर्घटनामा परेर ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग दान दिन परिवार सहमत भएपछि सुश्रितासँगै मोरङका ५० वर्षीय देवेन्द्रप्रसाद बास्तोलाले नयाँ जीवन पाएका हुन् । विज्ञान विषयमा कक्षा १२ पास गरेकी सुश्रिता अहिले उच्च शिक्षा गर्ने योजनामा छिन् । ‘अब आफ्नो खुट्टामा आफैं उभिने कोसिसमा छु,’ उनले भनिन्, ‘अंग प्रत्यारोपणपछि महिनाकै २०–२५ हजारको त औषधि खानुपर्छ । अब जागिर गरेर आफ्नो खर्च आफैं जुटाउने सोचमा छु ।’ शुक्रबार भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा भेटिएकी सुश्रिताकी आमा सुशीलाका आँखामा खुसीका आँसु देखिन्थ्यो । सुशीलाले आग्रह गरिन्, ‘कसैलाई अकालमा मर्ने रहर हुँदैन । तर त्यसै खेर जाने अंग दान गरेर कसैको ज्यान जोगिन्छ भने यस्तो महादान सबैले गरौं ।’ ५ वर्षअघि आमाबाट प्राप्त मिर्गौलामा खराबी देखिएपछि सिराहका ३७ वर्षीय दीपेशकुमार खड्काले बाँच्ने आशा मारिसकेका थिए । उनको २०७० सालमा दुवै मिर्गौलामा खराबी देखिएको थियो । उनले भने, ‘त्यतिबेला महँगो औषधि उपचार र काठमाडौं बसाइँ निकै कष्टकर बनेको थियो । सातामा २–३ पटक डायलासिस गराउन अस्पताल धाउनुपर्थ्यो ।’ अहिले मिर्गौला प्रत्यारोपणपछि डायलासिस गराउने झन्झट छैन । परिवारसँग मात्र नभई साथीभाइसँग पनि घुलमिल हुन थालिसकेका छन्, उनी । दीपेश पनि ‘ब्रेन डेथ’ भएका व्यक्तिबाटै अंग पाएर नयाँ जीवन पाउने नेपालका १० औं अर्थात् पछिल्ला व्यक्ति हुन् । उनले २०७९ फागुन १४ मा दुर्घटनामा परेका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण गराएका थिए । ब्रेन डेथ भएका व्यक्तिबाट अंग प्राप्त गर्ने अर्का व्यक्ति हुन्– रूपन्देही मायादेवी गाउँपालिका–४ मोतीपुरका ४९ वर्षीय मार्कन्डेश्वरमणि त्रिपाठी । उनी पनि परिवारका अन्य सदस्यको अंग ‘म्याच’ नभएपछि ५ वर्षदेखि डायलासिस गराउँदै आएका थिए । गत वर्ष अंग प्रत्यारोपण गराएका उनी रूपन्देहीको मर्यादपुर स्वास्थ्य चौकीका सिनियर अहेव हुन् । अहिले उनी काममा फर्किसकेका छन् । दीर्घरोगी भएपछि समाज र साथीभाइले विचराको दृष्टिकोणले हेर्ने परिपाटी उनलाई चित्त बुझेको छैन । ‘कतिपय हौसला दिने पनि छन्,’ उनले भने, ‘कुनै पनि व्यक्तिले जुन अंगदान गर्‍यो, पुनर्जन्ममा त्यही अंगविहीन भएर जन्मिनुपर्छ भन्ने समाजमा गहिरो अन्धविश्वास रहेको पाइन्छ । यसलाई सबैले मिलेर चिर्नुपर्छ ।’ ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न मिल्ने कानुन बनेको ८ वर्ष भइसक्यो । यस अवधिमा ‘ब्रेन डेथ’ भएका ५ जनाको १० वटा मिर्गौला र २ वटा कलेजो प्रत्यारोपण भइसकेको मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरको तथ्यांक छ । पहिलो पटक २०७४ वैशाख २८ मा सुनसरीका ५१ वर्षीय गोविन्दप्रसाद तिमिल्सेना र काठमाडौंका मिलन श्रेष्ठले मिर्गार्लौ प्राप्त गरेका थिए । त्यसपछि २०७५ कात्तिक १२ मा पोखराका भगवानसिं थापा, स्याङ्जाका अशोककुमार पौडेल र २०७५ माघ ३ मा इलामका वीरबहादुर मगर र ओखलढुंगाका अनुपम थापामगरले पाएका थिए । अहिले उनीहरू स्वस्थ जीवन बाँचिरहेका छन् । ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग प्राप्त गर्ने सुनसरीका तिमिल्सेनका दाइ केशवप्रसाद तिमिल्सेनाले बिरामी मात्र नभई परिवारका अन्य सदस्यले समेत सुखी जीवन बिताउन पाएको बताए । ‘घरमा दीर्घरोगी भएपछि पारिवारिक सुख नै हराइसकेको थियो,’ उनले भने । मरणोपरान्त मानव शरीरका धेरै अंग दान गर्न सकिन्छ । जसले धेरैलाई मृत्युबाट बचाउँछ । तर, विडम्बना ‘ब्रेन डेथ’ प्रायः सवारी दुर्घटनामा परेकाहरूको हुने गरेको छ । त्यस्ताको अंग प्रत्यारोपण संख्या निकै न्यून रहेको छ । यसो हुनुमा ‘ब्रेन डेथ’ हेर्नेसम्बन्धी छुट्टै इकाइ नहुनु तथा यसबारेमा प्रचारप्रसार पनि नहुनु मुख्य कारण रहेको मिर्गौला रोग विशेषज्ञहरू बताउँछन् । मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्यासिंह शाह भन्छिन्, ‘अंग प्रत्यारोपणसम्बन्धी ऐनमा ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग झिक्न परिवारका सदस्यको लिखित सहमति चाहिन्छ । तर, विडम्बना यसबारेमा सर्वसाधारण मात्र नभई चिकित्सकहरू समेतलाई पर्याप्त जानकारी छैन । प्रचारप्रसार अभावमा पनि ब्रेन डेथबाट हुने अंग प्रत्यारोपण संख्या बढाउन नसकिएको हो ।’ स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार मुलुकभर अंग प्रत्यारोपण गराउन अझै २१ हजार एक सय ६६ जना मिर्गौलाका बिरामी पालो कुरिरहेका छन् । मस्तिष्क मृत्यु भएका व्यक्तिको फोक्सो, मिर्गौला, कलेजो, प्याङक्रियाज, मुटु र सानो आन्द्रा गरी कम्तीमा ८ वटा अंग प्रत्यारोपण गर्न मिल्छ । प्राडा शाहले सरोकारवाला निकायले ‘ब्रेन डेथ’ बारेमा सचेतना जनाउन पाठ्यक्रम र लाइसेन्समा अंगदान बारेमा खुलाउन पहल गर्नुपर्ने बताइन् । ‘तर, यसतर्फ सरोकारवाला निकायको खासै ध्यान जान सकेको छैन,’ उनले भनिन् । ‘ब्रेन डेथ’ भएकाको अंग प्रत्यारोपण संख्या बढाउन नसक्दा डायलासिसमा सरकारलाई निकै आर्थिक भार पर्ने गरेको छ । सरकारको वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी डायलासिसमा लगानी छ । ‘ब्रेन डेथ’ भएकाहरूको अंग प्रत्यारोपण बढाउने हो भने सरकारको बजेट मात्र नभई बिरामीको ज्यान पनि जोगिने मिर्गौला रोग विशेषज्ञ प्राडा शाहको भनाइ छ । ‘ब्रेन डेथ’लगायत मानव अंग प्रत्यारोपणसम्बन्धी नीति, योजना तथा कार्यक्रम तयार गरी स्वास्थ्य मन्त्रालयमा पेस गर्न भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य सेवा विभागका महानिर्देशक सदस्यसचिव रहने गरी ९ जनाको अंग प्रत्यारोपण समन्वय समिति गठन गरिएको छ । समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसनलगायतका प्रतिनिधि छन् । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. अनिलविक्रम कार्कीले ‘ब्रेन डेथ’ बारेमा सचेतना कार्यक्रम आयोजना गर्न योजना बनाउने क्रममा रहेको दाबी गरे । सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका ब्रेन डेथ डोनर सेन्ट्रल ट्रान्सप्लान्ट कोअर्डिनेसन युनिटका अध्यक्ष डा। कल्पना श्रेष्ठले ब्रेन डेथबारेमा पाठ्यक्रम र लाइसेन्समा व्यवस्था गर्न सरोकारवाला मन्त्रालयबीच समन्वयका लागि पटकपटक स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गर्दा पनि बेवास्ता गर्दै आइरहेको आरोप लगाइन् । ‘प्रचारप्रसार गर्न पनि बजेट छैन,’ उनले भनिन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ब्रेन डेथबारेमा पाठ्यक्रम र लाइसेन्समा व्यवस्था गर्न लिखित रूपमा कुनै पनि निकायले मन्त्रालयलाई जानकारी नगराएको दाबी गरे । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार