धरान रनकोे उपाधि मुरिउकी र श्रेष्ठलाई

शनिबार, १२ फागुन २०८०
धरान । धरान १० के नेवा च्यारिटी रनको १२ औं संस्करणको पुरुषतर्फ केन्याली धावक जुलियस मुरिउकी र महिलातर्फ दक्षिण एसियाली म्याराथनकी गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठ प्रथम भएका छन् । “शिक्षाको निम्ति दौड” भन्ने मुल नाराको साथ शनिबार भएको धरान रनमा पुरुष तर्फका मुरिउकीले ३२ मिनेट ५० सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेको थिए । महिलातर्फ श्रेष्ठले ३८ मिनेट ८ सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेकी हुन् । पुरुषतर्फ ३४ मिनेटमा दौड पुरा गर्दै प्रशान्त तामाङ दोस्रो भएका छन् । यसैगरी पवन राई ३४ मिनेट ११ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए । महिलातर्फ छेन्बी माया राईले ४४ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र ईन्द्र कला नेम्बाङले ४५ मिनेट २८ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भईन् । महिला र पुरुष दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरूले क्रमशः नगद ६० हजार, ४० हजार र ३० रुपियाँ र मेडल पुरस्कार पाएका थिए । विजेताहरुलाई धरान उपमहानगरपालिकाको प्रमुख हर्कराज राईले पुरस्कार प्रदान गरेको थियो । यसैगरी अण्डर १६ उमेर समूहमा पुरुषतर्फ तिलक रार्ई प्रथम, दिपेन मुख्या दोस्रो र सुनिल बस्नेत तेस्रो भए भने महिलातर्फ जुही राई प्रथम विनिता राई दोस्रो र शिल्पा राई तेस्रो भएका थिए । भेट्रान पुरुषतर्फ रेवत दाहाल प्रथम, कर्मा शेर्पा दोस्रो र प्रविन राई तेस्रो भए भने भेट्रान महिला तर्फ जमुना लिम्बु प्रथम, चन्द्र राई दोस्रो र सोम माया राई तेस्रो भए । अण्डर १६, भेट्रानलगायत प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो विजेताहरूलाई नगद ७ हजार, ५ हजार र ३ हजार रुपियाँ सहित मेडल प्रदान गरिएको थियो । धरान रनमा पहिलोपटक जनप्रतिनिधीहरुको पनि प्रतिस्पर्धा भएको थियो जसमा वडाका वडाध्यक्षहरु टंक बहादुर राई प्रथम ,पुर्ण बहादुर लिम्बु दोस्रो र बिबेक राई तेस्रो भएका थिए । धरान रन पुतली लाइनबाट दौड सुरु गरेर पुरानो बजार, पालिका बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, रेडक्रस भवन, अमरहाट, जिरो पोइन्ट, जानकी चौक, स्वस्तिक चौक, मंगलवारे, रत्न चोक, बद्ध चोक, दुर्गा चोक हुँदै पुनः पुतली लाइनमा नै समापन भएको थियो । रनबाट उठ्ने रकम सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी धरान रनमा सबैले टाइमिङ चिपको प्रयोग गरेको थियो । टाइमिङ चिपको प्रयोग नेपालमा नै पहिलो पटक धरान रनबाट नै गत सालबाट शुरु गरिएको धरान रनका अध्यक्ष रोमु राईले बताए । धरान रनको कार्यक्रममा विट्रिस गोर्खा बिग्रेड व्याण्डका टिमले प्रस्तुति दिएको थियो । यसैगरी कलाकार गायकार राजु लामा, पुर्व मिस नेपाल माल्भिका सुब्बा, नायिका तथा मोडेल निति शाह लगायत जनप्रतिनिधीहरु र धराने जनताहरुले खेलाडीहरूको हौसला बढाउनका लागि दौड सुरु हुन अगाडि धावकहरू माझ उपस्थिति जनाएका थिए । प्रतिस्पर्धामा ह्वील चियर दौडसँगै १६ देखि ३९ वर्ष उमेर समूहमा खुल्ला दौड आयोजना गरिएको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार