देशभित्र गैरआर्थिक भ्रष्टाचारजन्य कार्य बढेको तथा देशबाहिर हुने अवैध लेनदेनको छानबिनमा कानुनको अभाव रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुनासो, गैरआर्थिक भ्रष्टाचार पनि कारबाहीको दायरामा ल्याउन संसदीय समितिको निर्देशनकाठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको तौरतरिकामा व्यापक परिवर्तन आएकाले अपेक्षाकृत काम गर्न नसकेको गुनासो गरेको छ । मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठकमा डाकिएका अख्तियारका पदाधिकारीले देशभित्र गैरआर्थिक भ्रष्टाचारजन्य कार्य बढेको तथा देशबाहिर हुने अवैध लेनदेनको छानबिनमा कानुनको अभाव रहेको बताए । बैठकमा उपस्थित अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको तौरतरिका फेरिएको, गैरआर्थिक भ्रष्टाचारजन्य कार्य बढेको, अनुचित कार्य नै भ्रष्टाचारको जड भएको बताए । उनले अनियमितताका विभिन्न घटनामा लेनदेन नेपालबाहिर हुने गरेको र अन्तर्राष्ट्रिय क्षेत्रको सूचनामै पुग्न सकस भएकाले भ्रष्टाचारजन्य कार्यको कारबाही निष्कर्षमा पुर्याउन लामो समय लाग्ने गरेको बताए । विभिन्न देशसँग द्विपक्षीय सम्झौता नहुँदा अन्तर्राष्ट्रिय क्षेत्रले भ्रष्टाचारसम्बन्धी सूचना दिन नमानेको, धेरै पत्राचार गर्दा पनि कठिनाइ भएर नसकेको गुनासो उनले राखेका थिए । अख्तियारका प्रमुख आयुक्तले भ्रष्टाचारको गैरआर्थिक भ्रष्टाचारजन्य कार्य बढेको बताएपछि संसदीय समितिले गैरआर्थिक प्रकृतिको भ्रष्टाचार पनि कारबाहीको दायरामा ल्याउन आयोगलाई निर्देशन दिएको छ । गैरआर्थिक भ्रष्टाचारजन्य कार्यभित्र कुनै काम गरिदिएबापत उपहार लिने, आफन्तको नियुक्ति गराइमाग्ने, स्वार्थ बाझिने गरी अवसर लिनेजस्ता कार्य पर्दछन् । अनुचित तथा अनियमित कार्यको रूपमा रहेको गैरआर्थिक भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउन निर्देशन दिएको हो । ‘आर्थिक अनियमिततालगायत भ्रष्टाचारको परिभाषाभित्र पर्ने गैरआर्थिक भ्रष्टाचारजन्य कार्यहरूमाथिसमेत प्रभावकारी रूपमा अनुसन्धान गरी कारबाहीको दायरामा आउने गरी कार्यसम्पादन गर्नू,’ अख्तियारलाई लेखा समितिको निर्देशन छ । लेखा समिति बैठकमा उपस्थित अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको तौरतरिका फेरिएको, गैरआर्थिक भ्रष्टाचारजन्य कार्य बढेको, अनुचित कार्य नै भ्रष्टाचारको जड भएको बताए । ‘चौथो तहबाट घुस खाएको भर्खरैको घटनाबाट देखियो । भ्रष्टाचारको नयाँ रूप आएको छ । भ्रष्टाचार संगठित जालो भइसकेको छ । सार्वजनिक पद धारण गरेकोबाहेक अरू नसमेट्दा अरूलाई प्रयोग गरेर भ्रष्टाचार फस्टाएको छ । यदि सेवाग्राहीबाट लिन्छ भने बिचौलियालाई पनि सार्वजनिक पद धारणभित्रै राख्ने भनेका छौँ,’ उनले भने । अहिले सरकारी कार्यालयमा आउने कर्मचारीले काम गर्नेभन्दा आफ्नो वृत्तिविकासका लागि लोकसेवाको तयारी गरेर बस्ने प्रवृत्ति रहेको भन्दै राईले यसमा सुधार जरुरी रहेको बताए । भारतमा निश्चित समय सेवा गर्नैपर्ने नजिर राख्दै राईले भने, ‘यहाँ त सरकारी तलब खाऊ, आफ्नो वृत्तिविकासमा लाग, तयारी गर, काम नगर भन्छ । फेरि विदेश पठाउँछौँ, देशका लागि सेवा गर्नेभन्दा घुम्ने काम हुन्छ । विदेशबाट के सिक्यो, के उपलब्धि भयो थाहा छैन ।’ राईले प्रणालीमा आमूल सुधारका लागि नीतिगत सुधार जरुरी रहेको दोहोर्याए । प्रमुख राईले गैआर्थिक भ्रष्टाचारको विषय उठाएपछि गैरआर्थिक भ्रष्टाचारलाई पनि कारबाहीको दायरामा ल्याउन भनेको हो । समितिले भ्रष्टाचार काण्ड समयमा निष्कर्षमा पुर्याउन पनि भनेको छ । ‘कतिपय विषयमा अनुसन्धान गर्न समय लाग्ने नै हुन्छ । यद्यपि, लामो समयसम्म निष्कर्षमा नपुग्दा आमनागरिकमा आशंका-द्विविधा उब्जिने भएकाले सो विषयलाई समेत मध्यनजर गर्दै आयोगबाट शीघ्र कार्यसम्पादन गर्नू,’ निर्देशनमा छ । यसमा समितिले अख्तियारसहित अनुसन्धान गर्ने सरकारी निकायले कतिपय विषय र अवस्थामा बहुआयामिक अध्ययन, अनुसन्धान, अन्य देशसँग सूचना आदानप्रदान गर्नुपर्ने र सो कार्यका लागि आवश्यकताअनुसार बहुपक्षीय, द्विपक्षीय सम्झौता आवश्यक पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । ‘यद्यपि, यस्ता सम्झौताहरू हुन नसकेको कारण अनुसन्धान कार्य प्रभावित हुन गएको देखिएकाले आवश्यकताअनुसार बहुपक्षीय-द्विपक्षीय सम्झौता गर्ने, संसद्बाट अनुमोदन गराउने कार्यलाई प्राथमिकतासाथ गर्न, गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देश गर्दछ,’ समितिको निर्णयमा छ । आयोजनाहरूमा पनि अन्यमार्फत पैसा लिने प्रवृत्ति मौलाएको उनले बताए । ‘टोटल नेक्सस समेटिने गरी कानुन आयो भने समात्न सकिन्छ । त्यसैगरी, अनक्यापले सबै क्षेत्र अख्तियारभित्र पार भन्छ, हामी सदस्य हौँ । नीतिगत रूपमै राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । पोलिसी करेक्सन जरुरी छ । जन्मदेखि मृत्युसम्म कति कमायो, काम गर्यो भन्ने रेकर्ड राखौँ,’ उनले भने । प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत सुधार जरुरी रहेको बताए । अहिलेको ऐनले आयोजनामा मात्रै भ्रष्टाचार हुन्छ भन्ने परिकल्पना गरेको, संविधानले नै अनुचित कार्यको अधिकार नदिएको भन्दै उनले आगामी ऐनमा यी विषयलाई समेट्नुपर्ने धारणा राखे । ऐनमा स्टिङ अप्रेसन पनि समेट्नुपर्ने उनको माग थियो ।
प्रतिक्रिया