आजदेखि राष्ट्रिय सभामा नयाँ अनुहार

शुक्रबार, १८ फागुन २०८०
काठमाडौं । राष्ट्रिय सभाका २० सांसदको कार्यकाल सकिएको छ । शुक्रबारदेखि उनीहरूको कार्यकाल सकिनुका साथै शनिबार नवनिर्वाचित सांसदले शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै शनिबार सपथग्रहण कार्यक्रम राखेको जनाएको छ । अध्यक्षमा गठबन्धनका तीनै दलको दाबी राष्ट्रिय सभा अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सिनाको समेत कार्यकाल शुक्रबारदेखि सकिएको छ । अब राष्ट्रिय सभाको अध्यक्ष नयाँ चयन गर्नुपर्ने हुन्छ । अध्यक्षमा अहिलेको सत्तारूढ गठबन्धन दलबाटै आउने निश्चित झैं छ । तर, गठबन्धनभित्र रहेका प्रमुख तीन दलले अध्यक्षमा दाबी गरेपछि कतिपयले गठबन्धन नै फुट्ने दाबी गरिरहेका छन् । गठबन्धनभित्रका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्दै आएका छन् । राष्ट्रिय सभाको सदस्य सिट बाँडफाँटकै बेला अध्यक्ष कुन दलले पाउने भन्ने स्पष्ट निर्णय भएको थिएन । तर, कांग्रेस र एकीकृत समाजवादीका नेताले अध्यक्ष आफूहरूकै दलले पाउने सहमति पहिले नै भइसकेको दाबी गर्दै आएका छन् । पछिल्लो समय माओवादी केन्द्रले समेत अध्यक्षमा दाबी गरेको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै दलले अध्यक्ष पाउनुपर्ने दाबी गर्दै आएका छन् । तर, गठबन्धनको बैठकले यस’bout ठोस निर्णय गर्न बाँकी नै छ । एकीकृत समाजवादीका उपाध्यक्ष धर्मनाथ साहले गठबन्धनले छिट्टै नै राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउने र गठबन्धनको निर्णयअनुसार नै सत्तारूढ दल अगाडि बढ्ने बताए । गठबन्धनको निर्णयअनुसार गठबन्धनमा रहेका दल अगाडि बढ्न सहमत रहेको बताउँदै उपाध्यक्ष साहले यसैका कारण गठबन्धन नफुट्ने दाबी गरे । राष्ट्रिय सभाका अध्यक्ष संवैधानिक परिषद्को सदस्य समेत हुने संवैधानिक व्यवस्था छ । परिषद्बाट संवैधानिक आयोगमा हुने नियुक्तिलगायतका विषयमा अध्यक्षको समेत निर्णायक भूमिका हुने भएकाले यसमा दलले दाबी गर्नु स्वाभाविक नै भएको नेता बताउँछन् । कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्दै आएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा यसअघि भएको सहमतिअनुसार कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पाउने बताउँछन् । यो कुनै विवादको विषय नभएको बताउँदै उनले गठबन्धनमा रहेका दलकै सहमति र निर्णयका आधारमा कांग्रेसले उम्मेदवारी दिने बताए । सत्तारूढ गठबन्धनभित्र रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी अध्यक्ष आफ्नो दलले पाउनुपर्ने अडानमा छन् ‘राष्ट्रिय सभाको अध्यक्षमा माओवादीले उम्मेदवार उठाउने भनेको छ, उठाइसकेको छैन । कांग्रेसले अध्यक्ष पाउनेगरी शीर्ष नेतामै पहिला नै सहमति भइसकेको छ । कांग्रेस त्यसैमा अडिग छ,’ विश्कर्माले राजधानीसँग भने, ‘गठबन्धनको बैठक बसेर यसलाई हामी छिट्टै टुंगो लगाउँछौं । यसमा कुनै समस्या छैन, पहिला भएको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्छ ।’
कांग्रेसले गठबन्धनमा यसअघि भएको सहमतिअनुसार नै अध्यक्ष कांग्रेसका तर्फबाट हुने बताए पनि गठबन्धनमा रहेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै अध्यक्षतामा बसेको पार्टीको स्थायी समिति बैठकबाट माओवादीले अध्यक्षमा उम्मेदवारी दिने निर्णय किन गराए ? जब प्रचण्ड, देउवा, नेपालकै बीचमा सहमति भइसकेको छ भने माओवादीले दाबी किन ग¥यो ? कतिपय नेता माओवादीले कांग्रेसलाई दबाबमा राख्न प्रचण्डकै अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय भएको बताउँछन् ।
गठबन्धनभित्र रहेका दलका शीर्ष नेताबीच अध्यक्ष कांग्रेसले पाउने टुंगो लागिसकेको हो भने माओवादी केन्द्रको बुधबार बसेको स्थायी समितिले पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेर गठबन्धन फुटाउन खोजेको हो कि भन्ने प्रश्न उठेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘हाम्रातर्फबाट पनि उम्मेदवारी दिने भन्ने निर्णय भएको छ । तर, अध्यक्षकै कारण गठबन्धनमा तात्विक फरक पर्दैन ।’ माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पहिलादेखि नै अध्यक्षमा माओवादीको दाबी रहदै आएको बताउँछन् । पार्टीको बैठकले निर्णयपछि मात्रै गरेको बताउँदै उनले अध्यक्षमा पार्टीले गठबन्धनभित्र सहमति जुटाएरै उम्मेदवारी दिने बताए । ‘हाम्रो पार्टीले राष्ट्रिसभामा दाबी गर्दै आएको छ । सोहीअनुसार पार्टीको स्थायी समितिको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो । यसै विषयमा यदि गठबन्धनले माओवादीले नपाउने गरी अरू दलले पाउने निर्णय ग¥यो भने हाम्रो पार्टीले पुनः बैठक बसेर यस’ निर्णय गर्छ,’ पोखरेलले भने, ‘यसैकारण अहिलेको गठबन्धन फुटदैन । माओवादीले राष्ट्रिय सभाको अध्यक्ष अहिलेको गठबन्धनबाट नपाउने अवस्था आउँदा यसैका लागि गठबन्धन छोडेर नयाँ गठबन्धन बनाउने पक्षमा हामी छैनौं ।’ माओवादीले पार्टीको आधिकारिक बैठकबाटै उम्मेदवारी निर्णय गरिसकेको भए पनि कांग्रेस र एकीकृत समाजवादीले पार्टीको बैठकबाट निर्णय गर्न बाँकी छ । तर, एकीकृत समाजवादीले पार्टीको बैठकमा यस’bout छलफल गर्दै आएको छ । गठबन्धनको बैठकमा एकीकृत समाजवादीको दाबी हुने बताइएको छ । एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले यसअघि राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँट हुँदा एकीकृत समाजवादीले पाउनुपर्ने ३ सिट नदिई २ सिट मात्रै दिएको र अरूले पाउनुपर्ने सिटभन्दा बढी लिएको बताए । सोही बेला एक सिट एकीकृत समाजवादीलाई कम दिएर अध्यक्ष पनि दिने सहमति भएको श्रेष्ठले बताए । अब गठबन्धनको बैठकबाट निर्णय गरेर सबैको सहमतिमै एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवारी दिने उनले बताए । ‘राष्ट्रिय सभाको सिट बाँडफाँट गर्दा नै राष्ट्रिय सभाको अध्यक्ष एकीकृत समाजवादीले पाउने सहमति भइसकेको छ । सिट बाँडफाँटकै बेला नै हामीले दाबी गर्दा एक सिट कम पाएर अध्यक्ष पाउने सहमति भइसकेको छ,’ श्रेष्ठले भने, ‘यो गठबन्धनको भावना र निर्माणका आधारमा शक्तिको बाँडफाँट गर्दा गठबन्धनको बैठकले राष्ट्रिय सभाको अध्यक्ष एकीकृत समाजवादीलाई दिनेगरी निर्णय हुन्छ । गठबन्धनमा सहभागी दल र नेताले यसमा बेइमानी गर्नुहुन्न । एकीकृत समाजवादीले नै पाउँछ ।’ गठबन्धनमा रहेका तीनवटै दलले अध्यक्षमा दाबी गर्दै आएको भए पनि गठबन्धनभित्रै रहेका दलसँग प्रतिस्पर्धा गर्ने पक्षमा भने छैनन् । सबैले सबैको सहमतिमा आफ्नो पार्टीको उम्मेदवार गठबन्धनको साझा उम्मेदवार बनाउने रणनीतिमा छन् । कांग्रेसले कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अहिलेका उपाध्यक्ष उर्मिला अर्याल र एकीकृत समाजवादीबाट डा. वेदुराम भुसालको अध्यक्ष हुने चर्चा छ । गठबन्धनभित्र रहेका तीनवटै दलले दाबी गर्दै आएको भए पनि यस’गठबन्धनको आधिकारिक निर्णय गर्न बाँकी नै छ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार