तरहराको जङ्गलबाट काठ तस्करी : सामुदायिक वनका अध्यक्ष पक्राउ, उपाध्यक्षसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, २३ फागुन २०८०
इटहरी । सुनसरीको इटहरीस्थित तरहरा आसपासका जङ्गलबाट काठ तस्करी गरेको आरोपमा सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–१९ तरहरास्थित ब्रह्मपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मनोज तामाङ मङ्गलवार साँझ पक्राउ परेका हुन् । इटहरी–१९ घर भएका तामाङलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको डिभिजन वन कार्यालय सुनसरीका निमित्त प्रमुख धर्मनाथ यादवले बताए । उनका अनुसार तामाङविरुद्ध वन ऐन २०७६ अनुसार मुद्दा चलाउन थप अनुसन्धान अघि बढाइएको छ । प्रारम्भिक अनुसन्धानबाट तामाङलगायतको प्रत्यक्ष संलग्नतामा सामुदायिक र राष्ट्रिय वनबाट बहुमूल्य सखुवा तथा अन्य जातका काठ तस्करी भइरहेको खुलेको यादवले बताए । उनका अनुसार वनबाट तामाङको नेतृत्वमा पटक–पटक काठ तस्करी हुने गरेको यकिन भएको छ । वन कार्यालयले सामुदायिक वनसँग आबद्ध अन्य ३ जनाको हकमा पक्राउ पुर्जी जारी गरेको छ । ब्रह्मपुर सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष टेकबहादुर बस्नेत, उपभोक्ता समिति सदस्य एवं वन हेरालु आशिष तामाङ र वन हेरालु पेम्बा तामाङलाई पक्राउ गर्न अदालतबाट अनुमति लिइएको सुनसरीका निमित्त डिभिजन वन अधिकृत यादवको भनाइ छ । उनका अनुसार अदालतबाट अनुमति लिएर गत सोमबार पक्राउ पुर्जी जारी गरिएको हो । काठ तस्करीमा संलग्नता देखिएपछि सुरुमा वन कार्यालयले अध्यक्ष तामाङ, उपाध्यक्ष बस्नेतसहित ४ जनालाई सब डिभिजन वन कार्यालयमा हाजिर हुन पत्र काटेको थियो । तर, चारै जना फरार बनेका थिए । त्यसपछि वन कार्यालयले अदालतबाट अनुमति लिएर पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी गरिएकामध्ये तामाङ मात्रै पक्राउ परेका छन् । अन्य ३ जना फरार रहेकाले खोजी जारी राखिएको वन अधिकृत यादवले बताए । उनका अनुसार ब्रह्मपुर वनका अध्यक्ष तामाङलगायतले इटहरी–२० मा रहेको हाँसपोसा सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट सखुवा र कुम्भीका गोलिया काटेर आफ्नो वनमा पुर्‍याउँदै लुकाएर राखेको पाइएको छ । तस्करीका लागि ट्याक्टरसमेतको प्रयोग गरिएको उक्त घटनामा तामाङ आफैँ संलग्न रहेको खुलेको यादवको भनाइ छ । उनका अनुसार अध्यक्ष तामाङ, उपाध्यक्ष बस्नेतसमेतले हाँसपोसा सामुदायिक एवं राष्ट्रिय वनबाट बहुमूल्य सखुवा र कुम्भी जातको काठ तस्करी गरेर आफूआवद्ध वन क्षेत्रभित्र लुकाएर राखेको पाइएकाले कारबाही अघि बढाउन अनुसन्धानलाई तीव्र पारिएको छ । हाँसपोसा सामुदायिक र राष्ट्रिय वन ब्रह्मपुर सामुदायिक वननजिकै पर्छन् । दुवै वनबाट तस्करी गरिएको ६ सय दशमलव ७४ क्वीफिट काठका गोलिया ब्रह्मपुर सामुदायिक वनको ढोड घारीमा फागुन १२ गते फेला परेपछि तस्करीमा उपभोक्ता समितिका पदाधिकारीकै संलग्नता पुष्टि भएको जानकारी यादवले दिए । उनका अनुसार विभिन्न साइजका सखुवाका १५ र कुम्भीका ६ वटा गोलिया फागुन १५ गते बरामद गरिएको छ । त्योमध्ये सखुवाका ४ वटा गोलिया हाँसपोसा सामुदायिक वनबाट तथा सखुवाका ११ र कुम्भीका ६ वटा गोलिया राष्ट्रिय वनबाट तस्करी गरेर लगेको पाइएको छ । हाँसपोसा सामुदायिक वनदेखि सखुवा जातको १ सय ९३ दशमलव ४५ क्वीफिट तथा राष्ट्रिय वनदेखि सखुवाको २ सय ३८ दशमलव ८४ र कुम्भीको १ सय ६८ दशमलव ४५ क्वीफिट काठ तस्करी गरेर ब्रह्मपुरको ढोड घारी पुर्‍याइएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको यादव बताउँछन् । यो घटनाको अनुसन्धानका लागि डिभिजन वन कार्यालयले सुनसरीले सब डिभिजन वन कार्यालय पाँचकन्या धरानका प्रमुख एवं वन अधिकृत महेशकुमार साहलाई अनुसन्धान अधिकृत तोकेको थियो । साहकै टोलीले पक्राउ परेका तामाङसँग बयान लिनेलगायत कारबाहीको अन्य प्रक्रिया अघि बढाएको छ । हाँसपोसा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष महेन्द्र गिरीका अनुसार वन निरीक्षणका क्रममा ठुलो फायर लाइनको उत्तरतर्फको खोल्सीमा सखुवाको रुख कटान गरेर लकडी गायब बनाइएको थियो । त्यो जानकारी पाए लगत्तै हाँसपोसा वन समितिले सब डिभिजन वन कार्यालय तरहरामा जानकारी गराएको थियो । बरामद भएकामध्ये सखुवाका ४ वटा गोलिया हाँसपोसा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा र अरू गोलिया सब डिभिजन वन कार्यालय तरहरामा राखिएको छ । हाँसपोसा वनको सिमानामा पर्ने राष्ट्रिय वन क्षेत्रभित्र एउटा सखुवाको रुखको फेद जलाएको अवस्थामा समेत भेटिएको थियो । तस्करको समूहले गोलिया लगिसकेपछि सखुवाको फेदमा आगो लगाइदिएको हो । काठ तस्करीको विषयलाई लिएर उपभोक्ताहरूले भने सब डिभिजन वन कार्यालय तरहराका प्रमुख दिनेशप्रसाद यादव र ब्रह्मपुरमा वनका अध्यक्ष तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरीसमेत दिएका छन् । यादव र तामाङ समेतको मिलेमतोमा काठ तस्करी हुने गरेको आरोप उपभोक्ताको छ । अख्तियारमा दिएको उजुरीमा घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही गर्नुपर्ने र काठ तस्करी रोक्नुपर्ने माग गरिएको छ । सब डिभिजन वन प्रमुख एवं वन अधिकृत यादवले भने तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । काठ तस्करीमा आफ्नो संलग्नता पुष्टि भएमा जस्तोसुकै कारबाही भोग्न तयार रहेको उनी बताउँछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार