पहिचानवादीले इलाम २ मा डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने

शुक्रबार, २५ फागुन २०८०
इलाम - पहिचानवादीले इलाम दुईमा डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने पक्का भएको छ । थेगिम प्रदेश १ पुनः नामकरण सङ्घर्ष समितिका संयोजक पनि हुन् ।
पहिचानको आन्दोलनमा नेतृत्व गरिरहेका नेता गोपाल किरातीका अनुसार थेगिमलाई उम्मेदवार बनाइने पक्का भएको छ । किरातीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै थेगिमलाई उम्मेदवार बनाउने जानकारी दिए ।
‘इलाम–२ उपनिर्वाचनका लागि प्रदेश १ पुनः नामाङ्कन सङ्घर्ष समिति (पहिचानवादी) को साझा उम्मेदवारका रूपमा श्री डकेन्द्रसिं थेगिमको नाम निश्चित भएको छ,’ किराँतीले लेखेका छन् । थेगिमले पनि आफू त्यस क्षेत्रबाट उम्मेदवार बन्ने निश्चित भएको बताए ।
औपचारिक घोषणा गर्न बाँकी रहेको बताइएको छ । काठमाडौँमा आदिवासी जनजाति महासङ्घको कार्यालयमा बसेको बैठकले यस्तो सहमति गरेको उनले बताए । आन्दोलनरत पक्षका प्रमुख घटकहरूले आफूलाई समर्थन गरेको थेगिमको भनाइ छ ।
यसअघि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, किरात याकथुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा र सङ्घर्ष समितिका संयोजक समेत रहेका थेगिम उम्मेदवारीको होडमा रहेको चर्चा थियो ।
प्रदेशको नाम कोसी राखेपछि पहिचानवादी सङ्घसंस्थाहरू किरात याकथुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई
यायोक्खा र नेपाल शेर्पा सङ्घसमेतको सहभागितामा थेगिमको नेतृत्वमा प्रदेश १ पुनः नामकरण सङ्घर्ष समिति गठन भएको थियो । आफू उम्मेदवार भएसँगै पहिचान पक्षधर पार्टीहरूसँग पनि सहकार्य हुने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार