सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औँ संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ । यस वर्ष देखी रात्रिकालीन समयमा सुरु गरिन लागेको गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको हो ।
शनिवार हुने उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र साबिक विजेता सगरमाथा यूथ क्लब मोरङबिच प्रतिस्पर्धा हुदैछ । प्रतियोगिता इटहरी रंगशालामा साँझ साढे ६ बजेपछि फलड लाइटमा सुरु हुने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ ।
एक सातासम्म चल्ने गोल्डकपमा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने क्लबका उपाध्यक्ष केशव कार्कीले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन् ।
गोल्डकपलाई आगामी वर्ष पनि रात्रिकालीन समयमै आयोजना गरिने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए । जसका लागि गत आर्थिक बर्षमानै इटहरी रंगशालामा फ्लर्ड लाइट जडान गरिएको थियो ।
रङ्गशालाको उत्तर र दक्षिण तर्फको कुनामा लाइट जडान गरिएको छ । रंगशालामा लाइट जडानका लागि कोशी प्रदेश सरकार खेलकुद विकास बोर्डले गत आर्थिक वर्षमा ८० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा थप रकम उपलब्ध नभएकाले बाँकी लाइट अस्थायी रूपमा जडान गरिएको छ ।
प्रतिक्रिया