नवीन दहाल
इटहरी / यही २४ गते शनिवार हुन लागेको इटहरी नगर खानेपानी उपभोक्ता समिति निर्वाचनको सरगर्मी बढेको छ ।
आम निर्वाचनको झल्को दिने गरी खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा यहाँका २० मध्ये १३ वटा वडाबाट १६५ पदका लागि २८० जना उम्मेदवारहरू घरदैलोमा छन् ।
सुरुमा वडाबाट उपभोक्ता समितिको सदस्य निर्वाचित हुनुपर्ने र निर्वाचित सदस्यहरूबाट पदाधिकारी चयन हुने व्यवस्था छ । सोही अनुरूप इटहरीका विभिन्न वडाहरूमा अहिले उम्मेदवारहरू घरदैलोमा छन् ।
वडा नं १ र २० मा खुल्लातर्फ ७ जना, महिलातर्फ ४ जना, वडा नं ८ मा खुल्लातर्फ १० जना, महिलातर्फ ५ जना उम्मेदवारहरू निर्विरोध चयन भएका छन् । यसैगरी वडा नं ९ र १० का महिला उम्मेदवारहरू क्रमशः ५ र ३ जना निर्विरोध चयन भएका छन् ।
निर्विरोध चयन भयाबाहेकका ११ वटा वडामा चुनावको मिति नजिकिएसँगै ठुला–साना दल तथा स्वतन्त्र उम्मेदवारहरू नेतृत्व आफ्नो हातमा पार्न चुनावी कसरतमा जुटेका छन् ।
उपभोक्ता संस्थाको नेतृत्व चयनको लागि इटहरी उपमहानगरपालिकाका पूर्वाधार विज्ञ अर्जुन दाहालको संयोजकत्वमा निर्वाचन समिति बनाएर काम अगाडि बढाइएको छ ।
गत फागुन १५ गतेदेखि निर्वाचनको कार्यक्रम सुरु भइसकेको संयोजक दाहालले बताए । मतदाता नामावली प्रकाशन, नामावली माथि दाबी विरोध, उम्मेदवारी मनोनयन दर्ता, उम्मेदवारहरूमाथि दाबी विरोध, दाबी विरोधमाथि छानबिन, उम्मेदवारहरूको मनोनयन फिर्ता र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको कार्यक्रम चैत १५ गतेसम्म सकिएको उनले बताए ।
उम्मेदवारले चैत २२ गते राति १२ बजेसम्म मात्र भोट माग्न पाउने त्यसपछि मौन अवधि सुरु उनको भनाइ छ । ९ वर्षपछि हुन लागेको इटहरी खानेपानीको निर्वाचनमा २२ हजार ९८ मतदाता रहेका छन् । ११ वटा मतदान केन्द्रका २० वटा बुथमा मतदान गर्न सकिने व्यवस्था मिलाइएको निर्वाचन समितिका सह–संयोजक चन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन इटहरीका मेयर हेमकर्ण पौडेलको संयोजकत्वमा निर्वाचन अनुगमन समिति निर्माण गरिएको छ ।
प्रत्येक चार वर्षमा हुनुपर्ने निर्वाचन कोरोना महामारी, स्थानीय निर्वाचन लगायतका कारण देखाउँदै हालसम्म स्थगित थियो ।
यो निर्वाचनसँगै खानेपानी इटहरीमा झन्डै दुई दशक नेतृत्व गरेका एमाले नेता रामप्रसाद चौलागाईँले नेतृत्व हस्तान्तरण गर्दैछन् । उनले दुई पटकको निर्वाचनमा विजयी भएर इटहरी खानेपानी उपभोक्ता समितिलाई नेतृत्व गरेका थिए ।
आम निर्वाचन जसरी नै दलहरूले आफ्नो समूह नै बनाएर वडागत हिसाबमा चुनावी मैदानमा छन् । यसरी दलहरूले आफ्नो समूह नै बनाएर खानेपानी संस्थामा हाबी हुन खोज्नुको पछाडिको कारणबारे साधरणतया उपभोक्ताहरू आश्चर्यमा परेका छन् ।
‘खानेपानी संस्थामा त्यस्तो के हुन्छ, जहाँ पुग्नका लागि साम, दाम, दण्ड भेद हुन्छ रु’ इटहरी ४ का एक उपभोक्ताले भने ।
उनले दलहरूबाटै निर्वाचित हुँदा खानेपानीजस्तो संस्थामा स्वार्थ मात्रै हाबी हुने बताए ।
प्रतिक्रिया