खड्का सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो । सम्झौताको म्याद २०७५ मै सकिए पनि सम्झौताअनुसार भाडाबापत्को ६ करोड ३० लाख १८ हजार रुपैयाँ भुक्तानी खड्काले भुक्तानी नगरेको स्काउटका निर्देशक रामप्रसाद भट्टराईले राज्यका सबैजसो निकायलाई लेखेको पत्रमा उल्लेख छ ।खड्काको कम्पनीले ३ रोपनी जग्गा लिएको थियो । लगत्तै उनले आसपासको थप ९ रोपनी जग्गा १५ वर्षदेखि हडपेर दुरुप्रयोग गरिरहेका छन् । भाडामा लिएको ३ रोपनी जग्गामा खड्काले लैनचौर ब्याकेट र माई च्वाइस रेस्टुरेन्टलाई भाडामा लगाएका छन् । बैङ्केट र रेस्टुरेन्टको संरचना ५ रोपनीमा फैलिएको छ । बाँकी करिब ७ रोपनी जग्गामा सशुल्क पार्किङ राखेका छन् । उनले स्काउटकै जग्गामा पार्टीको झन्डासहित आफ्नो सम्पर्क कार्यालयसमेत खोलका थिए । स्काउटले जग्गा फिर्ता लिन ताकेता बढाएपछि सम्पर्क कार्यालय भने हटाएका छन् । लैनचौर चोकको स्काउट भवनको ३६ वटा सटररकबल पनि खड्काले १५ वर्षदेखि भाडामा लिएका छन् । भाडामा दिएको भवनमा विद्युत् र पानीको महसुलसमेत स्काउटको नाममा उठ्थ्यो । त्यो थाहा पाएपछि अहिले स्काउटले विद्युत् र पानीको लाइन काटिदिएको छ । जग्गा छाड्न पटक–पटकको तोकेतापछि वैशाख १ देखि खाली गराउने प्रतिबद्धता जनाए पनि खड्काले पनि पूरा नगरको भट्टराईले बताए । ‘बक्यौता तिरेर जग्गा छाड्न भनेका छौं,’ उनले भने, ‘वैशाख १ देखि छाड्छौं भन्ने पत्र खड्का ल्यान्ड प्रालिले पठाएको थियो तर अझै खाली गरिएको छैन ।’ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले स्काउटको जग्गाका विषयमा सूक्ष्म अध्ययन भइरहेको जनाए । ‘स्काउटबाट निवेदन आएको छ, गृह मन्त्रालयको सूचनासँगै अतिक्रमित जग्गाका विषयमा अरू पनि थुप्रै उजुरी, गुनासा आएका छन्,’ उनले भने, ‘स्काउटको निवेदनलाई पनि सँगै राखेर हेरेका छौँ, कैफियत भेटिए कारबाहीमा जान्छौँ ।’ युवा तथा खेलकुद मन्त्रालयले ‘सम्झौता नगरी अनधिकृत व्यक्तिरसंघसंस्थाले जग्गा कब्जा गरेर स्थायी संरचना निर्माण गरी सक्दासमेत कारबाही नगर्ने नेपाल स्काउटका पदाधिकारीलाई कारबाही गर्न’ २०७५ को मंसिर २८ मा पत्राचार गरेको थियो । पत्रका आधारमा स्काउटले २०७५ माघ १० मा प्रालिलाई जग्गा खाली गराउन निर्देशन दिएको थियो । त्यसपछि स्काउटको उक्त जग्गासम्बन्धी विवाद जिल्ला अदालत काठमाडौं हुँदै उच्च अदालत पाटनसम्म पुगेको हो । काठमाडौं जिल्ला अदालतले कम्पनीकै क्षमा आदेश दिए पनि २०७९ असार १३ मा उच्च अदालत पाटनले जिल्लाको आदेश बदर गर्दै स्काउटको पक्षमा फैसला गरेको छ । जग्गा भाडा सम्झौता नवीकरण नभएपछि अदालतको आदेशअनुसार प्रालिले जग्गा छाड्नुपर्नेमा कब्जा गरिराखेको छ । यसरी अदालतको आदेश हुँदा पनि जग्गा खाली गराउन काठमाडौं महानगर, जिल्ला प्रशासन र खेलकुद मन्त्रालयले तत्परता देखाएका छैनन् ।
प्रतिक्रिया