जेठ २६ देखि २८ सम्म अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

विहीबार, १० जेठ २०८१
  इलाम / चियाको राजधानी भनेर चिनिने इलाममा आगामी जेठ २६ देखि २८ सम्म चिया महोत्सव हुने भएको छ । नेपाली चियाको गुणस्तर विश्वमाझ पुर्‍याउन अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको हो । नेपालको चिया विश्वमा नै स्वादिष्ट र अर्ग्यानिक भए पनि खास प्रचार हुन नसक्दा किसान तथा व्यापारीले कम मूल्य विक्री गर्नु परिरहेको गुनासो बढेपछि इलाम नगरपालिकाको अगुवाइमा चिया महोत्सव हुने भएको हो । विदेशी मुद्रा आर्जनको एक अब्बल कृषि जन्य उत्पादन चियालाई बजारीकरणमा सहजता होस भनेर महोत्सव गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनले महोत्सव पछि इलाम लगायत नेपालकै चिया अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन र बजारीकरणमा सहजता हुने अपेक्षा रहेको बताए । इलाम बजार अर्थात् सदरमुकाममा नै चिया महोत्सव आयोजना गरिने छ । जसका लागि केदार थापाको संयोजकत्वमा समिति गठन भएको छ । इलाम उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा सो महोत्सव सञ्चालन हुने छ । जसमा चिया सँग सम्बन्धित संघसस्थाको समेत सहभागिता रहने छ । सो महोत्सवमा नेपाल पर्यटन बोर्डले समेत सहयोगमा गर्ने बताइएको छ । चिया महोत्सवपछि इलाम लगायतका चिया व्यापारी र विदेशी चिया व्यापारीबिचको दुरी समेत घट्ने अपेक्षा रहेको इलाम उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)ले बताए । इलाममा १९२० सालमा नै चिया रोपण सुरु भएको इतिहास छ । महोत्सवमा इलाममा उत्पादन हुने सबैखाले चियालाई समावेश गराइने छ । विदेशी चिया पारखी तथा चिया ब्यापारीहरुले सोही महोत्सवबाट चिया खरिद विक्रि गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार