नियम अनुसार नचल्ने इटहरीका ११ सहकारी कारवाहीमा, खारेजीसम्म हुनसक्ने(नामावली सहित)

विहीबार, २४ जेठ २०८१
इटहरी । सुनसरीको इटहरीमा लामो समयदेखि क्रियाशील ११ सहकारी संस्थालाई इटहरी उपमहानगरले कारवाही गर्ने भएको छ । संस्थाको अध्यावधिक बिवरणहरु नबुझाउने तथा नियम संगत रुपमा नचलेका सहकारीहरुलाई कारवाही गर्ने भएको हो । गत जेष्ठ २ गते इटहरीका २१ सहकारी सस्थाहरुलाई उपमहानगरको परिधि भित्र सञ्चालन गरि सस्थाको सम्पूर्ण कागजपत्रहरु बुझाउनका लागि १५ दिने अल्टिमेटम दिएको थियो । तर उपमहानगरले दिएको अल्टिमेटममा समेत अटेर गर्ने ११ ओटा सहकारीहरुलाई खारेजीसम्मको कारवाही गर्न लागेको उपमहानगरका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले जानकारी दिए । यसरी अटेर गर्ने सहकारीहरुमा इटहरी–३ मा रहेको सरस्वती कृषि सहकारी संस्था लिमिटेड, इटहरी १५ मा रहेको पार्वती कृषि सहकारी संस्था लिमिटेड ,इटहरी–२० मा रहेको महक महिला कृषि सहकारी संस्था लिमिटेड, इटहरी–२० मा रहेको किसान हित बङ्गुरपालन सहकारी संस्था लिमिटेड ,इटहरी–२० मा रहेको सहकारी संस्था लिमिटेड, इटहरी–५ मा रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् । यसैगरी इटहरी –२० मा रहेको छिन्ताङदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–३ मा रहेको दियो बचत तथा ऋण सहकारी संस्था लिमिटेड , इटहरी–३ मा रहेको मण्डली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी– ६ मा रहेको स्वाधीन सूचना सञ्चार सहकारी संस्था लिमिटेड, इटहरी–१२ मा रहेको गीताञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् । गत जेष्ठ २ गते नगर सहकारी ऐन र नगर सहकारी नियमावली अनुसार सहकारी संस्थाहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र नियमानुसार साधारणसभा सम्पन्न गरेर साधारणसभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारणसभाको प्रतिवेदन नियामक निकायमा बुझाउनुपर्ने, कानुनी व्यवस्था रहेको ब्यहोरा पटक पटक स्मरण गराउँदा पनि अटेर गर्ने २१ सहकारीहरूको नामावली सार्वजनिक गरिएको थियो । २१ वटा सहकारी मध्ये १० वटा मात्र सम्पर्कमा आएको नगर सहकारी शाखा प्रमुख पोखरेलले बताए । सम्पर्कमा नआउने बाँकी ११ वटा सहकारीहरुलाई सहकारी ऐन र सहकारी नियमावली बमोजिम नगर सहकारी समितिको बैठक बसेर कारवाही गरिने प्रमुख पोख्रेलले बताए । नियम नमान्ने सहकारीहरूलाई नियम अनुसार निष्कृय सहकारीको सूचीमा नामावली प्रकाशन गरेर कानुन बमोजिम कारबाही गरिने उनले बताए । नगरले सहकारीहरूलाई पाँच लाखसम्म जरिवाना र खारेजसमेत गर्न सक्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार