विराटनगर / मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रवार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमत, नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदले समर्थन गरेका छन् ।
उनी गाउँपालिका अध्यक्षमा पराजित भएको २५ महिनामा मुख्यमन्त्री बनेका हुन् । उनी ०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए ।
त्यति बेला उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए । नेपाली काँग्रेसका अरुणकुमार मण्डलसँग पराजित भएका थिए ।
त्यसपछि ०७९ मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनअगाडि जनमतमा प्रवेश गरेका थिए । पालिका अध्यक्ष पराजित भएको सात महिनामै जनमत पार्टीबाट सांसद पनि बने ।
उनी ०७९ मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा सप्तरी २९१० बाट निर्वाचित भएका हुन् ।
सिंहले १६ हजार ७३४ मत प्राप्त गरेका थिए ।
सिंह २०७४ को स्थानीय तह निर्वाचनमा भने तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।
उनी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
तर, पाँच वर्षपछिको चुनावमा पराजित भएका सिंह अहिले मुख्यमन्त्री बनेका हुन् ।
प्रतिक्रिया