मोरङको सुन्दरहरैँचा हात्तीको बच्चा मृत भेटियो

बुधबार, ३० जेठ २०८१
सुन्दरहरैँचा : सुन्दरहरैँचा नगरपालिका–६ दुर्गा मन्दिर टोलनजिक भक्तराज लिम्बूको केरा बगानभित्र बिहान ६ बजेतिर छावा मृत फेला परेको खबर वन कार्यालय र प्रहरीलाई पुगेको थियो । स्थानीय र जनप्रतिनिधिले भाले जातको छावा बुधबार बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएको भनेर वन कार्यालय तथा प्रहरीलाई खबर गरेका थिए । सब डिभिजन वन कार्यालय लाटीझोडा एवं सब डिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोलीले घटनास्थललाई सुरक्षित राखेको छ । अन्दाजी ६/७ वर्षको जस्तो देखिने हात्तीको बच्चा कसरी व्यक्तिको नम्बरी जग्गाको केरा बगानभित्र पुग्यो र के भएर मर्योभन्ने यकिन हुन बाँकी रहेको लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवं अधिकृत अमृतविलाश पन्तले बताए । छावाको मृत्यु हुनुको कारण अनुसन्धानपछि मात्रै पत्ता लाग्ने उनको भनाइ छ । छावाको सुँडको छेउमा सामान्य चोट देखिएको र शरीरका अन्य भागमा कुनै पनि चोटपटक नदेखिएको जानकारी पन्तले दिए । उनका अनुसार घटनाको जानकारी सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षलाई गराइसकिएको छ । आरक्षको टोली घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न अहिले घटनास्थलतर्फ जाँदै छ । टोलीले छावाको पोस्टमार्टम गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाउने बताइएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार