कोसीको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना पास

विहीबार, ०६ असार २०८१
विराटनगर । कोशी प्रदेशको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ बिहीबार पास भएको छ । मनसुन सुरु भएर वर्षा, बाढी एवं पहिरोबाट जनधनको क्षति हुन थालेपछि प्रदेश सरकारले योजना तयार पारेको थियो । मुख्यमन्त्री हिकमतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले योजना पास गरेको हो । प्रदेश विपद् व्यवस्थापन परिषद् मुख्यमन्त्रीको अध्यक्षतामा रहने कानुनी व्यवस्था छ । मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपद्का कार्यहरू गर्न सहज हुने छ । परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मातहतका निकायहरूलाई विपद्का बेला सबै मिलेर काम गर्न निर्देशन दिए । विपद्का बेला प्रदेश सरकारले आफूले सकेको सहयोग गर्ने र सुरक्षा निकायहरुसँग समन्वय गरेर काम गर्ने उनको भनाइ छ । बैठकमा विपद्का बेला आइपर्ने घटनाहरूलाई मध्यनजर गर्दै गर्नुपर्ने कार्ययोजनाहरुको बारेमा पनि छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए । उनका अनुसार परिषद्को बैठकमा चालु आर्थिक वर्षको असार ५ गतेसम्म प्रदेशभित्र विपद्मा परेकाहरूलाई गरिएको राहत सहयोगका बारेमा पनि जानकारी गराइएको छ । प्रदेश सरकारले प्राकृतिक विपद्मा परेकालाई ७२ लाख ५५ हजार राहत वितरण गरिसकेको छ । सबैभन्दा बढी उदयपुरमा ४९ जनालाई १६ लाख ९५ हजार र कम ओखलढुङ्गामा १ जनालाई ३० हजार वितरण गरेको हो । त्यस्तै, विपद्बाट प्रभावित भएका परिवारका निजी आवास पुन निर्माणका लागि १ करोड १४ लाख ४५ हजार खर्च भएको छ । प्रदेश सरकारले जाजरकोटका भूकम्प पीडितलाई समेत १ करोड सहयोग गरेको छ । सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रका लागि ३ ठाउँमा ६ करोड रुपैयाँ खर्च गरिसकेको छ । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले सुरक्षा एवं सरोकारवाला निकायहरूसँग पनि सहयोग र समन्वय गरेर काम गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार