इलाम / इलाम सदरमुकाममा मङ्गलवार रैथाने खाद्य परिकार प्रदर्शनी हुने भएको छ ।पर्यटन कार्यालय झापाको सहयोगमा होटल व्यवसायी सङ्घ इलामको आयोजना तथा नगर पर्यटन समिति इलाम र इलाम उद्योग वाणिज्य सङ्घ इलामको सह आयोजनामा कार्यक्रम हुने भएको हो ।
आयोजकले आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । इलाम सदरमुकाम स्थित सिटी मार्टमा सञ्चालित होटल रेडरोजमा हुने खाद्य प्रदर्शनीमा चाम्रे, ढिँडो, सोल्लर सहित नेवारी खाजा सेट, गुन्द्रुक, मड्का मासु, दूधजन्य वस्तु एवम् जिल्लामा उत्पादित विभिन्न वस्तुको प्रदर्शनी तथा बिक्री हुने होटल व्यवसायी सङ्घ इलामका महासचिव प्रकाश चापागाईँले जानकारी दिए ।
जिल्लाको पर्यटन विकासका लागि सो कार्यक्रम गर्न लागिएको जनाइएको छ ।
पर्यटकीय स्थलहरूको प्रचार एवम् संवर्द्धनमा समेत सो कार्यक्रमले टेवा थप्ने होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलको भनाई छ ।प्रदर्शनीमा एक दर्जन माथि स्टलहरू रहने जनाइएको छ । सो दिन दुई दर्जन बढी परिकार खान पाइने आयोजकको भनाई छ ।
प्रतिक्रिया