इलाम / बालविवाह अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम सुरु भएको छ । पछिल्लो समय सन्दकपुर गाउँपालिकाका विभिन्न विद्यालयमा सडक नाटक मार्फत बालविवाह न्यूनीकरणको प्रयास थालिएको छ ।
लैङ्गिक अभियान कार्यक्रम अन्तर्गत सामाजिक विकास मन्त्रालय कोसी प्रदेशको आर्थिक सहयोग, मानव अधिकार मञ्चको आयोजना, सन्दकपुर गाउँपालिकाको समन्वय र चेतना नाट्य समूहले विभिन्न विद्यालयमा नाटक प्रस्तुत गरिएको छ ।
विशेष गरी पछिल्लो समय नेपालमा बाल विवाहको घटना बढिरहेकाले सो अभियान सञ्चालन गरिएको चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले बताए ।
प्रदेश सरकारले सन २०२५ सम्ममा बाल विवाह अन्त्य गर्ने लक्ष्य राखेको छ । सो लक्ष्यलाई साथ दिन पनि नाटक प्रस्तुत गरिएको उनको भनाई छ ।
नाटकलाई सन्दकपुर गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय, माईपोखरी संस्कृत मावि, इस्ट इस्काई विद्यालय र माईपोखरी एकेडेमीमा प्रस्तुत गरिएको मानवअधिकार मञ्च इलामकी सरिता राईले बताइन् ।
नाटक हेरिसकेपश्चात् सरस्वती माविका प्रधानाध्यापक गेहेनाथ अधिकारीले नाटकले बालबालिकाहरूलाई सचेत गराएको महसुस भएको बताए।
यस्तै वडा नम्बर ३ का वडाध्यक्ष लीलबहादुर बुर्जाले अहिले आफ्नो वडा वालमैत्री अभियानमा लागिरहेको बेला यो नाटकले थप सहयोग पुग्ने आशा गरे ।
गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेलीले नाटकले विद्यार्थीहरुमा गहिरो छाप छोडेको महसुस भएको बताए ।
नाटकको माध्यमबाट सजिलै सँगले बाल विवाहले पुर्याउने असर, निम्त्याउन सक्ने खतराको बारेमा जानकारी भएको उनको भनाई छ ।
नाटकको निर्देशन समूहको अध्यक्ष सुरेश पोर्तेलले गरेका हुन। जसमा चेतना नाट्य समुहका कलाकार सुरेश पोर्तेल, सरिता राई, सुशान्त चापागाईँ, प्रतिमा रिजाल, विमला राई र निशान देवानलगायतले अभिनय गरेका छन् ।
नाटक व्यवस्थापनमा मानव अधिकार मञ्चका रुद्र थेबे र जीवन कुमालले सहयोग गरेका छन् ।
प्रतिक्रिया