इटहरी : नेकपा एमाले इटहरीको निर्वाचनमा तीनजनाबीच प्रतिष्पर्धा हुँदा रुपेश बस्नेतले बाजी मारेका छन् ।
शनिबार इटहरीमा सम्पन्न निर्वाचनमा बस्नेतले १९७ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए । निकटतम् प्रतिस्पर्धी सुजन लामाले ७९ मत प्राप्त गरे भने उमेश पौडेलले ६२ मत प्राप्त गरे ।
नवनिर्वाचित बस्नेतलाई एमाले इटहरीका निवर्तमान अध्यक्ष यामकुमार सुब्बा र खानेपानी इटहरीका निवर्तमान अध्यक्षसमेत रहेका रामप्रसाद चौलागाईँले सहयोग गरेका थिए ।
पौडेललाई भने एमाले सुनसरीका निवर्तमान अध्यक्ष तथा प्रदेश सांसद रेवतीरमण भण्डारी र एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतमले सहयोग गरेका थिए । त्यसैगरी विद्यार्थी नेताहरूसहित युवाहरूले भने सुजन लामालाई अध्यक्षमा उम्मेदवारी उठाएका थिए । ओली निकट मानिएका उनले दोस्रो मत प्राप्त गरे ।
एक महिनाअघि एमाले सुनसरीको निर्वाचनमा पनि दुई समूहबीच निर्वाचन भएको थियो । खासगरी इटहरी खानेपानीका निवर्तमान अध्यक्ष रामप्रसाद चौलागाईँले एमाले नगर अध्यक्षसमेत रहेका याम सुब्बालाई खानेपानीको अध्यक्षमै निर्वाचित गराउन सहयोग गरेका थिए ।
इटहरी उपमहानगरको मेयरमा पराजित सुब्बालाई खानेपानीमा ‘सेटल’ गराएर चौलागाईँ आगामी स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्ने तयारीमा रहेको र बस्नेतलाई उनीहरूले जिताउन भूमिका खेलेको स्रोत बताउँछ ।
एमाले स्रोत भन्छ, ‘एमालेको जिल्लादेखि सबै स्थानीय तहमा पछिल्लो समय दुई गुटबीच चुनाव हुँदै आएको छ ।’
खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली समूह र इतर समूहबीच प्रतिष्पर्धा हुँदै आएपनि इटहरीमा भएको निर्वाचनमा भने सबैजना ओली निकटकै हुन् । ओली समूहमै पनि व्यक्तिपिच्छेका गुट हुँदा भने पार्टीको वडा कमिटिसम्म गुटको प्रभाव पर्ने गरेको छ ।
कुन पदमा को निर्वाचित ?
अध्यक्षमा बस्नेत निर्वाचित हुँदा उपाध्यक्षमा जीतेन्द्र थापा निर्वाचित भएका छन् । उनले २०१ मत प्राप्त गर्दा मन्दिरा राईले १३१ मत प्राप्त गरिन् । यसैगरी सचिवमा मदनबहादुर कार्कीले १७३ मत प्राप्त गर्दै निर्वाचित हुँदा राजेन्द्रकेशरी घिमिरेले १२१ र गोपाल गिरीले ४० मत प्राप्त गरे ।
यता, उपसचिवमा रञ्जु सिग्देलले २४५ मत र तेजनारायण चौधरीले १५० मत प्राप्त गर्दै विजयी भए भने मनोजकुमार राय, सुनील कार्कीले समान ९१ मत प्राप्त गर्दा विमलादेवी लम्सालले ८१ मत प्राप्त गरिन् ।
यस्तै, लेखा कमिटि सदस्य महिलातर्फ मेनुका घिमिरे भट्टराई र रेणुका राई, लेखा कमिटि सदस्य खुल्लातर्फ निशान खनाल र प्रशान्त पोखरेल निर्वाचित भएका छन् ।
यसैगरी, हल खुल्ला महिला सदस्यतर्फ चन्दा पुरी, दमयन्ता कार्की, धनुकला नाल्बो लिम्बू र धनमाया श्रेष्ठ, हल खुल्ला सदस्यतर्फ उमानाथ दाहाल, उमेश सुवेदी, केदार घिमिरे, देवराज मादेन र हर्कबहादुर मगर निर्वाचत भएका छन् ।
यस्तै, दलित महिला सदस्यतर्फ राधिका विश्वकर्मा, आदिवासी जनजाती सदस्यतर्फ शिलाकुमारी गुरुङ, जनजाती पुरुष सदस्यतर्फ पूर्णबहादुर तामाङ र सरोजकुमार गुरुङ, थारु महिला सदस्यतर्फ गायत्रीकुमारी चौधरी, थारु खुल्ला सदस्यतर्फ कमलकुमार चौधरी र सत्यनारायण चौधरी निर्वाचित भएका छन् ।
उता, भूगोल खुल्ला सदस्य (७ नं.) तर्फ देवनारायण चौधरी, भूगोल महिला सदस्य (७ नं.) तर्फ मेनुका बञ्जरा, भूगोल खुल्ला (१२ नं.) तर्फ कमल कार्की, भूगोल खुल्ला (२० नं.) रवीन्द्र भट्टराई निर्वाचत भएका छन् ।
प्रतिक्रिया